काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यही पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेको बताएका छन्। बुधबार राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गरे।
‘कांग्रेसले उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ’, महामन्त्री थापाले भने, ‘यो आत्मविश्वास हाम्रो एकता र समन्वयबाट आउँछ। एकता निषेधबाट वा फरक विचारलाई बेवास्ता गरेर नभई भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट उद्भव हुन्छ।’ महामन्त्री थापाले आमजनताको परिवर्तनको आकाङ्क्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधका साथ अगाडि बढ्ने प्रेरणा सबैलाई मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्। आजको समयमा कांग्रेसको विशेष अधिवेशनबाट उक्त मञ्च तयार हुने धारणा राखे। पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको उनले उल्लेख गरे।
राष्ट्रप्रतिको दायित्व निर्वाह गर्नसक्ने कांग्रेस बनाउनु आजको लागि प्रत्येक कार्यकर्ताको युगिन जिम्मेवारी भएको महामन्त्री थापाको भनाइ छ । आजभन्दा ४९ वर्ष अगाडि विषम् परिस्थितिमा ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वान गरेर विपी कोइराला, गणेशमान सिंहलगायत नेताहरू नेपाल फर्किनुभएको उनले स्मरण गरे।














