काठमाडौँ : बडादशैँलाई लक्ष्य गरी साझा यातायातले काठमाडौँ-नारायणगढ-काठमाडौँ बस सेवा शुरु गरेको छ। असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौँ फर्किने गरी बस सेवा शुरु गरेको हो। काठमाडौं-नारायणगढसम्मको एकतर्फी भाडा ३०० रुपैयाँ तोकिएको साझा यातायातले जनाएको छ। साझा यातायात सहकारी संस्थाका अनुसार ललितपुरको पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकीबाट बसनारायणगढ प्रस्थान गर्ने छन् ।कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढतर्फ लाग्नेछ। त्यसपछि ८, ९, १०, ११ र १२ बजे बस नारायणगढ प्रस्थान गर्नेछ। नारायणगढ पुगेपछि ती बस यात्रु लिई नारायणगढ बसपार्कबाट पुल्चोक हुँदै काठमाडौँ फर्किनेछन्। बसमा टिकट अनिवार्य गरिएको छ। यात्रुलाई सिटमा बाहेक उभिएर वा मुढामा राखेर यात्रा नगराउने साझा यातायात सहकारी संस्थाले जनाएको छ।














