खानेपानीको जारमा किटाणु भेटियो, ‘एक्सनमा’ चाँगुनारायणका उपमेयर बुढाथोकी

33

भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिकामा संचालित ५ वटा खानेपानी कम्पनी मा कोलिफार्म भेटिएपछि नगरपालिकाले पानी बिक्रि वितरणमा रोक लगाएको छ । नगरपालिकाको वडा नं.३ झौखेलमा सञ्चालनमा रहेका पाँच वटा खानेपानी उद्योगमाथी पानी बिक्री वितरण गर्न प्रतिबन्ध लगाईएको उपमेयर रमेश बुढाथोकीले जानकारी दिनुभएको छ । पानीका दिशामा पाइने जिवाणु भेटिएपछि पनि जारको पानी बिक्रि रहेको सूचना आएपछि बन्द गरिएको उहाँले बताउनु भयो । नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक बुढाथोकीको अध्यक्षतामा बसेको समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उत्पादन कम्पनीलाई पानी बिक्री वितरण गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो । उहाँले भन्नुभयो ‘फोहर पानी बिक्रि भइरहेको सूचनापछि हामी एक्सनमा उत्रिएका हौं ।’

झौखेलमा सञ्चालित खानेपानी उत्पादन कम्पनीहरुमा आकस्मिक अनुगमन गरेको थियो । अनुगमन टोलीले एसएन टप वेभरेज प्रालि, भक्तपुर नेचुरल ड्रिङ्किङ्ग वाटर प्रालि, एक्वाराज पानी, ओके मिनरल वाटर प्रालि, झौखेल उच्च वेभरेज प्रालि जय छुमागणेश र कर्णाली मिनरल वाटर प्राली का पानी उद्योगमा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा भक्तपुर नेचुरल वाटर प्राली बाहेकका ५ वटा कम्पनीलाई पानी बिक्री बितरणमा रोक लगाएको हो । ५ वटा कम्पनीले सोमवार भित्र ल्याव टेस्ट रिपोट नगरपालिकामा पेश गरेपछि नगरपालिकले पुन पानी परिक्षण गरेपछिमात्रै बिक्रि खुल्ला गर्न सकिने उपप्रमुख बुढाथोकीले बताउनुभयो ।

अनुगमन टोलीले खानेपानीको उत्पादनमा धेरै समस्या देखिएको, खानेपानीको गुणस्तरमा कैफियत भेटिएको र पानीको शुद्धतामा समेत ध्यान नदिएको पाएपछि सोही दिन पानीको नमूना संकलन गरि ल्याबमा पठाएको थियो । ल््याबबाट आएको रिपोर्टमा ती कम्पनीले बिक्री गरिरहेको खानेपानीको शुद्धता नरहेको , पिउनका लागि योग्य नरहेको, मानवीय स्वास्थयमा असर पार्न सक्ने कोलिफार्मलगायतका तत्वहरु उच्च मात्रामा भेटिएपछि नगरपालिकामा उपप्रमुख बुढाथोकीको नेतृत्वमा बसेको बैठकले ती पानी कम्पनीलाई पानी बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । झौखेलमा उत्पादित खानेपानी भक्तपुर जिल्लामा मात्रै नभई काठमाडौं उपत्यकाभरि बिक्री वितरण हुने गरेको छ । तर यहीको पानीमा ल्याब परीक्षामा कैफियत देखिएपछि पानी बिक्री वितरणमा रोकेको, उपमेयरको भनाई छ ।

स्थलगत अनुगमनको क्रममा पुगेका टोलीले अनुगमनका क्रममा पानी जारहरूको गुणस्तरमा सुधार नभएको, कतिपय उद्योगले नगरपालिकामा दर्ता नगरेको र उत्पादन स्थल वरपर सर सफाईमा ध्यान नदिएको पाईए पछि टोलीले पानी जारहरूको गुणस्तरमा विशेष ध्यान दिन निर्देशन दिँदै सात दिनभित्र अनिवार्य रूपमा नगरपालिका दर्ता एवं नविकरणमा आउन निर्देशन दिएको छ । गत सोमबार मात्रै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकृष्ण श्रेष्ठसहितको टोलीले पानी उद्योगको अनुगमन गरेको थियो ।