कञ्चनपुर । नेकपा माओवादी केन्द्रको महेन्द्रनगरस्थित पार्टी कार्यालयमा दुई कार्यकर्ताबीच कुटाकुट भएको छ । भीमदत्त नगर कमिटी सदस्य भुवन विष्ट र अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्टबीच आइतबार साँझ कुटाकुट भएको हो । विष्टको कुटाइबाट भट्ट गम्भीर घाइते भएका छन् । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विष्ट पनि सामान्य घाइते भएको र उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताए । उनी प्रहरी निगरानीमै छन् । उनका अनुसार पार्टी कार्यालयमा छलफलकै क्रममा दुई जनाबीच कुटाकुट भएको हो ।
माओवादीले विष्टलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । अखिल क्रान्तिकारीको छलफल भइरहेका बेला रिसिबी पोखेर विष्टले भट्टमाथि आक्रमण गरेको माओवादी कञ्चनपुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । -यो खबर इकान्तिपुरमा प्रकाशित छ ।














