Tuesday, September 22, 2026
Home समाज काठमाडौंमा मेट्रो रेल चलाउन बेलायतका नेपाली इन्जिनियरको दौडधुप

काठमाडौंमा मेट्रो रेल चलाउन बेलायतका नेपाली इन्जिनियरको दौडधुप

22

लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोने यूके) ले गत साता बेलायतको क्याम्ब्रिजमा गरेको दशौं वार्षिक सम्मेलन विशेषगरी विज्ञान, प्रविधि र इन्जिनियरिङमा केन्द्रित थियो । उक्त सम्मेलनमा विज्ञहरुले कुल ८ वटा कार्यपत्र पेश गरेकामा एउटा थियो ग्रेटर काठमाडौँ उपत्यकामा मेट्रो रेल विकासको रुपरेखा । कार्यपत्र प्रस्तुतकर्ता थिए- सिभिल इन्जिनियर डा. विनोदलाल अमात्य ।जुन तेश्रो साता सत्तारुढ दल एमालेका महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा रहँदा पनि सोसाइटीले दूतावासमा एक कार्यक्रम राखेरै काठमाडौंमा मेट्रो रेल सम्भाव्यताबारे बेलिविस्तार लगाएको थियो ।एमाले महासचिव पोखरेल र राजदूत चन्द्र कुमार घिमिरेसमक्ष सोने यूके अध्यक्ष सुवोध तिमिल्सिना, डा. अमात्य लगायतले भनेका थिए, ‘काठमाडौं उपत्यकामा अब मेट्रो रेल जरुरी भइसक्यो । मास्टर प्लान बनाएर प्रोजेक्ट शुरु गरे २० वर्षसम्म त बन्थ्यो । बरु हामी बेलायतका इन्जिनियरहरु पनि काम गर्न तयार छौं ।’

डा. अमात्यको प्रस्ताव र लागन अनुमान

डा. अमात्यका अनुसार मेट्रो रेलले काठमाडौं उपत्यकाभित्रका १८ नगरपालिका जोड्न सकिन्छ । सिटी सेन्टरबाट ५ वटा लाइनले पूर्व पश्चिम, उत्तर दक्षिण कनेक्ट गर्छ । यो रुट १९२. ५ किमी दुरी छ र जग्गा अधिग्रहणसहित यसको अनुमानित बजेट २५ बिलियन डलर लाग्ने आकलन छ ।काठमाडौं लाइन अन्तर्गत बनेपा, भृकुटीमण्डप थानकोट एवं पाटनलाइन अन्तर्गत गोदावरी, भृकुटी मण्डप र बुढानीलकण्ठ गरी दुई रुटको दुरी ६२. ५ किमी लामो हुनेछ । यसको बजेट १० बिलियन डलर र निर्माण कार्य सम्पन्न गर्न करिब १२ वर्ष लाग्ने अनुमान छ ।माथि उल्लेखित दुई रेल लाइन चलाउन ३ हजार ५ सय वर्क फोर्स (कामदार) आवश्यक हुन्छ भने निर्माणका बेला त हजारौंले रोजगारी पाउनेछन् । निर्माण सामग्रीका कम्पनीहरु पनि चल्ने भए । रेलसँगै कमर्सियल युनिट वृद्धि र समग्र जीडीपी नै बढ्ने उनी बताउँछन् ।तर, यति ठूलो खर्च कसरी जुटाउने ? डा. अमात्य भन्छन्, ‘प्रत्यक्ष वैदेशिक लगानी, थोरै ब्याजदरमा ऋण (सफ्ट लोन), ग्रीन क्लाइमेट फण्ड, करदाताबाट उठाएको रकम, पब्लिक शेयर, निजी क्षेत्रको लगानी जस्ता श्रोतबाट मेट्रो रेल असम्भव छैन ।