काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग कुनै शर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिएका छन्। आफ्नो निवास खुमलटारमा सोमबार नेपाल शिक्षक महासंघका पदाधिकारीसँगको भेटमा प्रचण्डले देशको भविष्यसँग सम्बन्धित पेशा भएकाले शिक्षकका मागप्रति सरकार गम्भीर बन्नुपर्ने बताए। उनले सरकारले ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना बनाउन नसकोस् भनेर सदनको अवरोध हटाउने निर्णय गरेको दाबी गरे। ‘सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ’, उनले भने, ‘ हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना बनाउन नसकोस् भनेर गरेका हौँ।’ भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा गरे। उनीहरूले शिक्षा क्षेत्रलाई राजनीतिक अस्थिरता र अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयन गर्न आग्रह गरे।











