काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नैतिकताको पाठ सिकाउन मिल्छ भन्दै प्रश्न गरेका छन्। आइतबारको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले ५ वटा मुद्दा भोगेर कारागारमा रहेका रवि लामिछाने नै रास्वपाको सभापति भएको निर्वाचन आयोगको अभिलेखमा उल्लेख भएको भन्दै आपत्ति जनाए। उनले अरूसँग नैतिकता खोज्ने रास्वपाका सांसदहरूले आफैँभित्रबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न आग्रह गरे। उनले रास्वपाको संसदीय दलको नेता समेत परिवर्तन भएको कुरा नबाहिरिएको बताउँदै रास्वपाको संसदीय दलको नेतामा अहिले पनि निलम्बित सांसद लामिछाने नै रहेको जिकिर गरे। उनले निलम्बित व्यक्तिलाई संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकता सिकाउनु जायज नहुने जिकिर गरे। भिजिट भिसा प्रकरणमा मुछिनुभएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा पनि रास्वपाका सांसद्हरूले नाराबाजी गरिरहेका छन्। यद्यपि, रास्वपाका विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद् अगाडि बढाएका छन्।













