काठमाडौँ । एमालेबाट निष्कासित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको भण्डाफोर गर्ने बताएका छन् । पूर्वउपाध्यक्षसमेत रहेका रावलले अध्यक्ष ओलीको स्वेच्छाचारी कदमप्रति देशव्यापी रूपमा अभियान चलाउने बताएका छन् । रावलले भने, ुममाथि जे जस्तो व्यवहार गरियो त्यसको व्यवस्थित ढंगले देशव्यापी रूपमा भण्डाफोर गर्ने तयारीमा छु ।केपी ओलीको स्वेच्छाचारी, निरंकुश र तानाशाही दमनविरुद्ध सशक्त ढंगले अभियान चलाउँदै छु । निश्चित रूपमा एउटा राजनीतिक व्यक्तिका गतिविधिहरू राजनीतिक रूपमै अघि बढ्छन् ।
नयाँ पार्टी खोल्दै हुनुहुन्छ रे नि भन्ने प्रश्नमा रावलले भने, भण्डाफोर अभियानपछि पार्टी खोल्नेबारे निर्णय हुन्छ । पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेको भन्दै तीन नेतालाई एमालेले बुधबार कारबाही गरेको थियो । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । -इकान्तिपुरबाट














