संसद अवरोध जारी रहन्छ : माओवादी केन्द्र

11

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद अवरोध जारी राख्ने भएको छ। शुक्रवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसद अवरोध सही भएको भन्दै जारी रहने निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै प्रमुख सचेतक हितराज पाण्डेले माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्धलाई हिंसाको रुपमा अपमानित गरिएकाले हिंसा शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसद अवरोध जारी रहने बताए। उनले पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संसदमा सो विषयमा माओवादीले लिएको अडान सही रहेको बैठकमा बताएको पनि जानकारी दिए।

‘हामीले संसद अवरोध गरिरहेका छौँ। माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्धलाई अपमान गर्नेगरी संघीयता, गणतन्त्रसहितको संविधानलाई अपमानित गर्ने हिसाबले जसरी नेकपा एमालेका मान्य योगेश भट्टराईले संसदमा आफ्नो अभिव्यक्ति दिनुभयो‚’ उनले भने, ‘त्यो विषयवस्तु संविधानसम्मत भएन‚ शान्ति सम्झौताअन्तर्गत भएन भनेर प्रतिवाद गरेका हौँ। हामीले हिंसा शब्दलाई मात्रै निरपेक्ष रुपमा होइन, अपमानित गरेकोमा प्रतिवाद गरेर जाने। यो समस्याको समाधान नहुँदासम्म संसद अवरोध हुन्छ।’ उनले काठमाडौं उपत्यका नदी किनारबारे सरकारले पुनरावलोकनमा जानुपर्ने निर्णय गरेको बताए। उनले उपसभामुखले प्राविधिक रुपमा केही विषयवस्तुहरु गल्ती गरेको भए पनि अहिले संवैधानिक परिषद्का लागि हटाउन लागिएको भन्दै यसबारेमा माओवादीले प्रतिवाद गर्ने निर्णय भएको बताए। माओवादी केन्द्रले राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।