न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : न्यायाधीश राउत

20

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले न्यायपालिकालाई लयमा फर्काउन राज्यको चौथो अंगको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै इतिहासमा सुनौलो अक्षरले लेखिने पनि बताए। उनले नेतृत्व भ्रष्ट र घृणित भए सबै ठाउँमा विकृति बढ्दै जाने उल्लेख गर्दै सो समयमा पत्रकारको कलमले समाचार नलेखे मुलुकले ठूलो मूल्य चुकाउने बताए। उनले अहिले सामाजिक सञ्जाल व्यक्तिको चरित्र हत्या गर्ने माध्यम बनेको भन्दै नियमनको आवश्यकता औंल्याए। लोकतन्त्रको मर्म मर्नेगरी अदालती रिपोर्टिङ गर्न नहुने पनि न्यायाधीश राउतको भनाइ छ। उनले गलतलाई गलत र सहीलाई सही भन्नसक्ने जमात नेपाली समाजमा कम हुँदै गएको बताए। उनले निहित स्वार्थहरुको लागि अदालतको हुर्मत लिँदै गर्दा अदालतको प्रतिरक्षामा कोही पनि उभिन नसकेको जिकिर गरे। न्यायाधीश राउतले अर्कालाई दोषारोपण गर्ने कुरामा नेपाली समाज पोख्त बन्दै गएको पनि बताए।

उनले लिभरल डेमोक्रेसीको कोर भ्याल्युजहरु जोगिएको दिनसम्म मात्रै न्यायपालिका र पत्रकारिता बाँच्ने जिकिर गरे। उनले भने, ‘आज सामाजिक सञ्जालमा मान्छेलाई खुइल्याउने काम, मान्छेको चरित्र हत्या गर्ने काम पेशा बनेको छ। कसले रोक्छ? कसरी रोक्ने? यसमा छलफल हुनुपर्छ। तपाईंहरुको रिपोर्टिङमा तपाईंहरुले हेक्का राख्नुपर्ने कुरा लिभरल डेमोक्रेसीको भ्याल्युजहरु कहिले पनि मर्नेगरी कोर्ट रिपोर्टिङ हुनु हुँदैन। लिभरल डेमोक्रेसीको भ्याल्युज बहुत ठूलो कुरा हो। यो जोगाउन एउटा पत्रकारले हात काटेर दिनुपर्छ। एउटा न्यायाधीशले आफ्नो विवेकलाई कहिल्यै बन्धक राख्नै हुँदैन। त्यसैले आजका दिनमा गलतलाई गलत भन्नसक्ने, सहीलाई सही भन्नसक्ने म आज पनि त्यो जमात देख्दिनँ।’

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले कानुन क्षेत्रको पत्रकारितालाई अरु पत्रकारिता भन्दा विशेष रुपमा हेर्न आवश्यक रहेको बताए। उनले विभिन्न देशहरुले पनि कानून क्षेत्रको पत्रकारितालाई अरु पत्रकारिताभन्दा विशेष रुपमा हेरेको उल्लेख गर्दै अदालत संवेदनशील स्थान भएको बताए। नेपाल बार एशोसिएशनकी महासचिव अञ्जिता खनालले अदालती भाषालाई ठिक ढंगबाट संप्रेषण गर्न आवश्यक रहेको बताइन्। उनले अरुको नक्कल गरेर समाचार प्रकाशन गर्दा र अदालती भाषा नबुझ्दा अनर्थ लाग्ने भएकाले अदालती भाषाको बारेमा सही ज्ञान लिन आवश्यक रहेको बताइन्। कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अदालतको चरित्र, अदालतको संरचना, अदालतको प्रकृति र काम बुझेर पत्रकारिता भएमात्रै देशका लागि फाइदा हुने बताए। उनले अदालतले आफैँ आफ्नो बारेमा बोल्न नसक्ने भएकाले सञ्चारमाध्यमले अदालतको मर्म बुझेर समाचार प्रकाशन एवं प्रशारण गर्नुपर्ने बताए।