भान्सामा बिजुली प्रयोगको अर्थ-राजनीति

22

अहिले आमजनतामा दीगो र स्वच्छ ऊर्जाको पहुँच र व्यवस्थापनको मुद्दा ‘हटकेक’ का रूपमा छ।घरायसी भान्सामा प्रयोग भएको ठोस इन्धन र मट्टीतेलबाट हुने प्रदूषणका कारण सिर्जित रोगले प्रत्येक वर्ष विश्वमा करिब ३८ लाख मानिस मृत्युको शिकार हुने एक अध्ययनले देखाएको छ। त्यो जनसंख्याको ठूलो हिस्सा महिला र बालबालिका छन्। यो समस्या समाधानको एउटा महत्वपूर्ण विकल्प घरायसी भान्साको विद्युतीय रूपान्तरण र प्रवर्द्धन हो। तर यो काममा धेरै प्राविधिक, आर्थिक, राजनीतिक र सुशासनका विषय जोडिएका छन्। िद्युत उत्पादन बढ्ने क्रमसँगै नेपाल सरकारले विद्युतीय भान्सा प्रवर्द्धनको प्रयास थालेको छ। सन् २०३० सम्ममा २५ प्रतिशत घरको भान्सालाई विद्युतीय चुह्लोमा परिणत गर्ने लक्ष्य लिएको छ।

पछिल्लो तथ्यांक अनुसार करिब ९५ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको छ। यसमध्ये ७२ प्रतिशत घर राष्ट्रिय विद्युत प्रणालीमा र २३ प्रतिशत अफ-ग्रिड प्रणालीमा जोडिएका छन्। यसको गुणस्तर र नियमित आपूर्तिमा भने समस्या छ। एक अध्ययन अनुसार ४७ प्रतिशत घरले निरन्तर बिजुली पाएका छन्। त्यस्तै ५ प्रतिशत घरले ८ देखि १६ घन्टा र ४८ प्रतिशत घरले १६ देखि २३ घन्टा नियमित बिजुली पाइरहेका छन्।तर भान्सामा प्रयोग हुने इन्धनका रूपमा अहिले पनि दाउराको खपत ५१ प्रतिशतभन्दा बढी छ। दाउराको प्रयोग सहरी क्षेत्रमा ३५ प्रतिशत र ग्रामीण क्षेत्रमा ६५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ। विद्युतीय ऊर्जाको प्रयोग भने १ प्रतिशतभन्दा कम छ। सन् २०२१ को जनगणना अनुसार करिब ६७ लाख घरधुरीमध्ये ३४ लाखमा दाउरा, २९ लाखमा एलपी ग्यास, ३२ हजारमा बिजुली, १ लाख ९१ हजारमा गुइँठा, ७८ हजारमा गोबर ग्यास, ३ हजारमा मट्टीतेल र ७ हजारमा अन्य इन्धन प्रयोग भएको देखिन्छ।मट्टीतेल प्रयोग पहिलेभन्दा घटे पनि बिजुली प्रयोग बढ्न सकेको छैन। विश्व परिवेशमा न्यून र मध्यम आय भएका १३० देशमध्ये आर्थिक, मानवीय, पूर्वाधार लगायत सूचकांकहरूका आधारमा ग्रिडजडित विद्युतीय भान्साको प्रयोगको हिसाबले नेपाल ५४ औं स्थानमा छ।