भक्तपुरमा सेतो घोडाको जात्रा सम्पन्न

56

भक्तपुर : तलेजु भवानीका बाहनको प्रतीक सेतो घोडाको जात्रा सम्पन्न भएको छ। ऐतिहासिक तथा साँस्कृतिक महत्त्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी सकिने र एकादशी शुरु हुने रात्रिमा गर्ने परम्परा छ। ात्रा अगाडि तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरूप तलेजु भवानीलाई कालरात्रि पूजा, टीका साइत पूजा गरी विर्सजन पूजा सम्पन्न गरिन्छ। पूजा सम्पन्न भएपछि घोडालाई विधिवत् पूजा गरी भेडा बलि दिइसकेपछि भक्तपुर नगरमा डुलाएर घोडा जात्रा शुरु गरिने तलेजुका आचाजु सिद्धिविर कर्माचार्यले जानकारी दिए। घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरबार क्षेत्र खिछें, चोछें, भोलाछें, थालाछें, दत्तात्रय, गोलमढी, सुकुलढोका र तमारी हुँदै नारायणचोकसम्म घुमाइ जात्रा सम्पन्न गरिन्छ।

तलेजुको पायःद्यो जात्रा सम्पन्न
बडादशैँ र एकादशीको मध्यरातमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग देव) को जात्रा पनि गएराति सम्पन्न भएको छ। तलेजु भवानीको साक्षात्त रूप मानिने पायःद्यो लाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा गरिन्छ। बडादसैैँको राति तलेजु आगम मन्दिरको ख कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शास्त्रअस्त्रसहित तलेजुको प्रतीरुप पायःद्योलाई तलेजुका मूल आचाजु र पुरोहितले राजोपाध्यलाई हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका पुजारी नरेन्द्र जोशीले जानकारी दिए। ात्राका क्रममा तलेजुमा राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेकोचोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा छ।