हेमराज ढकाल
काठमाडौ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना २०७६ सालमा सम्पन्न भएको हो । विसं २०७६ भदौ २४ गते परियोजनाको औपचारिकरुपमा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए । हाल यसबाट दैनिक डिजेल मात्रै आयात हुदैं आइरहेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो । यसको कूल लम्बाइ ६९ किलोमिटर छ । जसमा ३३ किलोमिटर भारत र ३६ किलोमिटर नेपाली भूमिमा पर्छ । यो पाइपलाइनको क्षमता वार्षिक करिब २५ लाख किलोलिटर रहेको छ । पाइपलाइनबाट आयात भएको डिजेल अहिले लुम्बिनी प्रदेशको भैरहवा, बागमतीको थानकोट, गण्डकीको पोखरा, कोशीको विराटनगर र मधेस प्रदेशको जनकपुरमा आपूर्ति भइरहेको छ ।
मुलुकभरको मागको करिब ७० प्रतिशत डिजेल अमलेखगञ्ज डिपोले आपूर्ति हुदैं आइरहेको छ । पाइपलाइनबाट पछिल्लो चार वर्षमा ३८ लाख ११ हजार चार सय ५१ किलोलिटर डिजेल आयाता भएको निगमले जानकारी दिएको छ ।
एउटै पाइपलाइनबाट डिजेल, पेट्रोल र मट्टितेलसमेत आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता कम हुँदा अहिले ट्याङ्रबाटै पेट्रोल र मट्टितेल आयात भइरहेको छ । आयोजना निर्माण सम्पन्न भएपछि हवाइ इन्धन बाहेकका पेट्रोल, डिजेल र मट्टितेल पाइपलाइनबाटै आउने छ ।
यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्नसमेत सहयोग पुग्ने निगमले जनाएको छ । परियोजना सम्पन्न भएपछि पेट्रोलियम पदार्थको सुनिश्चित आपूर्ति संयन्त्रको व्यवस्था हुनेछ । यसका साथै ढुवानी भाडा बचत, प्रदूषण नियन्त्रण, परिमाण र गुणस्तरको सुनिश्चिता र समयको बचतलगायत फाइदा हुनेछ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा प्राविधिक क्षति शून्य हुने गरेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनित मणि उपाध्यायका भनाई छ ।

पाइप लाइनबाट डिजेल आयात हुन थालेपछि ढुवानी भाडा बापतको बर्सेनि करिब दुई अर्ब जोगिएको छ । यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ । नेपाल सरकारले कम्तीमा तीन महिनाको माग धान्ने गरी भण्डारण क्षमता विस्तार गर्ने नीति लिएको छ ।
पेट्रोलियम पाइपलाइको दोस्रो चरणः
निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख उपाध्यायका अनुसार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । उपाध्यायले भने “आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको छ ।” हाल दैनिक रुपमा आवश्यकता अनुसार डिजेल मात्रै आयत हुदैं आएको छ । भण्डारणकालागि चाहिले ट्यांकी निमार्ण भएपछि पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याइने उनको भनाई छ ।
हाल भारतको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको कार्य जारी छ । हालसम्म यो काममा ४० प्रतिशत कार्य प्रगती भएको नेपाल आयल निगमले जनाएको छ । दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे लगायत भौतिक संरचनाको निर्माण भइरहेको छ ।
एउटै पाइपलाइनबाट क्रमशः डिजेल, मट्टितेल र पेट्रोल एकपछि आउँदा मिसिएको पेट्रोलियम पदार्थको छुट्टै भण्डारण गर्न ट्रान्समिक्स ट्याङ्क निर्माण गरिएको निगमका इञ्जिनियर प्रशान्त भट्टराईले जानकारी दिए । उनका अनुसार डिपोमा पेट्रोल भण्डारणका लागि चार हजार एक सय किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क निर्माण हुनेछ ।
“डिपो सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताका दुई वटा पानी टयाङ्की तथा दुई सय ५० किलोलिटर क्षमताका दुई वटा ‘ट्रान्समिक्स ट्याङ्क’ निर्माण भइरहेको छ,” निगमका इञ्जिनियर भट्टराईले भने । अहिले ‘म्यानुअल’रुपमा पेट्रोलियम पदार्थको लोडिङ हुँदै आएको छ ।
दोस्रो चरणको परियोजनाका लागि निगम र आइओसीले संयुक्तरूपमा लगानी गर्नेगरी सम्झौता भएको थियो । जसअन्तर्गत दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एक/एक वटा ट्याङ्कको बनाउने सम्झौत छ । मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्याङ्क भारतीय पक्षबाट निर्माण हुनेछ । यो कामकालागि आइओसीले करिब ७५ करोड भारतीय रुपैयाँ खर्च गर्नेछ ।
दोस्रो चरणको परियोजनाको सम्पूर्ण खर्च करिब २ अर्ब १५ करोड भारतीय रुपैयाँ रहेको छ । दोस्रो चरणको परियोजना निर्माण भएपछि समग्ररुपमा मुलुकलाई नै फाइदा पुग्ने निगमले जनाएको छ । दोस्रो चरणको परियोजनाको निर्माण कार्य भारतीय कम्पनी लिखिता इन्टरनेशनलले गरिरहेको छ । हाल ३ सय किमी पर भारतको बरौनीदेखि काठमाडौँसम्म पेट्रोल ढुवानी गर्दा प्रतिलिटर करिब छ रुपैयाँ ढुवानी खर्च हुने गरेको छ । पाइपलाइनमा पेट्रोल आएसंगै ढुवानी मुल्यमा आधा कम हुनेछ । यो लगायत अन्य मसल्द खर्च समेत कम हुदाँ राज्यलाई अर्बौ रकम फाइदा पुग्ने देखिन्छ । यसपछि चितवनको लोथरसम्म यहीँबाट पाइप लाइन मार्फत पेट्रोलियम पदार्थ ल्याने तयारी रहेको छ ।














