काठमाडौं : वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले मण्डिखाटारबाट पक्राउ गरेको छ ।महोत्तरी जलेश्वर ननगरपालिका–१३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ३७ वर्षीय कपिल बर्मालाई सोमबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार बर्माले विक्रम कार्कीसमेत छ जनालाई वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने भन्दै ठगी गरेका थिए। उनले नेदरल्याण्ड्समा प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने तथा मासिक दुई लाख रुपैयाँभन्दा धेरै तलब हुने आश्वासन दिई पीडितहरूबाट पटकपटक गरी ४४ लाख पचास हजार रकम लिई सम्पर्कविहीन भएका थिए।बर्मालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाएको कार्यालयले जनाएको छ।














