डोलेश्वर महादेव मन्दिरमा बन्यो मुख्य प्रवेशद्धारः नगरप्रमुख थापाले गरे उद्घाटन

146

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको मुख्य प्रवेशद्धारको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गरेका छन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा निर्माण भएको उक्त प्रवेशद्धारकालागि नगरपालिकाको ६८ लाख रुपैयाको बजेट विनियोजित गरेको थियो ।
प्रवेशद्धारको उद्घाटन गर्दै नगरप्रमुख थापाले सूर्यविनायक नगरपालिका क्षेत्रको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा डोलेश्वरको चर्चा चुलिएको बताए । सूर्यविनायक नगरपालिकामा रहेका सबै शिवालयमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न नगरपालिकाले शिव सर्किट निर्माण गरिरहेको थापाको भनाइ थियो ।

सूर्यविनायक नगर क्षेत्र आफैमा एक आकर्षक पर्यटकीय क्षेत्र भएको चर्चा गर्दै नगर प्रमुख थापाले यहाँका शिवालयहरुलाई समेटेर एकै दिनमा १ देखि १० वडासम्म रहेका शिवमन्दिरमा घुम्न सकिने गरि रुट तय गर्दै नगरपालिकाले शिव सर्किटको निर्माण गरेको बताए । सूर्यविनायकलाई विश्वभर चिनाउन, धार्मिक पर्यटनको बिकास गर्न र यहाँको आयस्तर उकास्न ठूलो टेवा पुर्याउने थापाले बताए । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि ३८ दिने श्रावणी मेला प्रारम्भ भएको छ । साउन १ गतेदेखि भदौ ६ गतेसम्म चल्नेछ ।