सुनसरी । सुनसरीको बराहाक्षेत्र नगरपालिका-१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो। कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार १९ वर्षीया प्रिति लिम्बुलाई आइतबार राति पक्राउ गरिएको हो। प्रितिसहित ५ जना युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेका थिए। १९ वर्षीया मनिषा राई, नाम नखुलेको १६ र १७ वर्षीया नाबालिगमाथि कुटपिट भएको हो।
‘उनीहरूबीच सामान्य विषयमा झगडा भएको देखिन्छ,’ उनले भने। प्रहरीले अन्य ४ जनाको खोजी गरिरहेको छ। आरोपित लिम्बुमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा लगिएको छ। कुटपिट गर्ने दुवै पक्षका युवतीहरू एउटै गाउँका हुन्।
कुटपिट घटना गत असार २९ गतेको हो।













