भक्तपुर अस्पताल ११९ औं वर्षमाः दैनिक ८ सयबढि बिरामीले लिन्छन् सेवा

94

भक्तपुर । भक्तपुर अस्पताल स्थापना भएको ११९ औं वर्ष भएको छ । शुक्रबार अस्पताल स्थापनाको अवसरमा विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइएको छ । सो अवसरमा आयोजित पत्रकारको स्वास्थ्य परिक्षण कार्यक्रममा जिल्लामा सक्रिय ३० जना पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

अस्पतालकी प्रमुख डाक्टर सुमित्रा गौतमले हाल अस्पतालमा ८ सय ५० जना भन्दा धेरै विरामीहरुले दैनिक ओपिडी सेवा लिने गरेको जानकारी दिएकी छिन् । अस्पतालको सेवालाई गुणस्तरिय बनाउन व्यवस्थापन समिती, कर्मचारी, प्राविधिक, नर्स, चिकित्सक सबै एक भएर लागेका छौं, डा.गौतमले भनिन् । विगतमा जस्तो रिफर अस्पताल नभएर भक्तपुर अस्पताल सेवादायक संस्था भएको उनको दाबी रहेको छ ।

ठाँउ अभाव हुदाँपनि हामी हरेक सेवालाई अस्पतालमा उपलब्ध गराउने प्रयास गरिहेका छौं, उनले भनिन् । बागमती प्रदेश सरकार अन्तरगत रहेको भक्तपुर अस्पताल यो वर्ष उत्कृष्ठ भएको जानकारी दिदैं अस्पतालकी मेसु डा. गौतमले एक वर्षमा ८६ हजार बिरामीले सेवा लिएको बताइन् । अस्पताललाई राम्रो बनाउन अझैं पनि भौतिक पूर्वाधार र जनशक्तिको खाँचो भएको गौतमको भनाई छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थले आफु नियुक्त भएको ६ महिनामा अस्पतालको विकाश लागि परेको बताए । हामी सबै मिलेर देशकै नमूना अस्पताल बनाउन सक्रिय छौं, अध्यक्ष कायस्थले भने ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले बागमती प्रदेश सरकार हुँदा खाने वर्गलाई स्वास्थ्यको पहुँच पुर्याउन तत्पर रहेको बताए । अस्पतालको ११९ औं वार्षिकोत्सवको अवसरमा उनले बागमती प्रदेश सरकारले शहिद परिवार, जनआन्दोलनका घाईते, जनयुद्धका घाईते, सडक दुर्घटनाका घाईते, विपन्न नागरिकहरु, अपाङ्गता भएका व्यक्तिहरु जो क र ख मा वर्गिकृत छन र वन्यजन्तुको आक्रमणमा परेर घाईते भएकाहरुको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने नीति ल्याएको जानकारी दिएका छन् ।
सो अवसरमा कोभिड १९ को महामारीका बेला उत्कृष्ट काम गरेका स्वास्थ्यकर्मी र कर्मचारी, अस्पतालका हिरो अफ दी मन्थलगायत अस्पतालको सेवा सूचारु गर्न उल्लेख्य योगदान दिएका स्वास्थ्यकर्मी र कर्मचारी, अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन अहोरात्र मेहनत गर्ने मेसु डा. गौतमलगायत अन्य स्वास्थ्यकर्मीहरु समेतलाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको थियो ।