Monday, September 28, 2026
Home राजनीति चार दलबीच समाजवादी मोर्चा घोषणाको सहमति

चार दलबीच समाजवादी मोर्चा घोषणाको सहमति

108

काठमाडौं : भोलि चार दलले समाजवादी मोर्चा घोषणा गर्ने भएका छन्। आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको चार दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच समाजवादी मोर्चा घोषणा गर्ने सहमति भएको हो। एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमालले संविधानबमोजिम सरकारलाई सफल बनाउन चार दलबीच समाजवादी मोर्चा घोषणा हुने बताए। उनले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम लगायतलाई पनि समेट्ने जानकारी दिए।

आज प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच समाजवादी मोर्चा घोषणा गर्ने सहमति बनेको हो। बैठकमा चार दलका अन्य नेताहरुको पनि सहभागिता रहेको थियो। ​समाजवादी मोर्चाको तयारीमा रहेका दलहरूसँग प्रतिनिधिसभामा ५४ सिट छ। जसमध्ये माओवादी केन्द्रसँग ३२ (बाबुराम भट्टराई नेतृत्वको नेसपाको एक सिट), जसपासँग १२ र नेकपा एससँग १० जना सांसद रहेका छन्। विप्लव नेतृत्वको नेकपाले संसदमा प्रतिनिधित्व गर्दैन। ३२ सिट रहेको माओवादी केन्द्र दबाब सहेर सरकारको नेतृत्वमा छ।