बैतडी– बैतडीको तल्लोस्वराडस्थित नेपाल-भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले डुङ्गा सञ्चालनमा रोक लगाएको हो ।
यहाँका अन्य घाटमा सहजैरुपमा डुङ्गा सञ्चालनमा भए पनि हल्दुविनायक घाटमा एसएसबीले एक वर्षदेखि अवरोध गर्दै आएको डुङ्गा चालक सुरेन्द्र चन्दले जानकारी दिए । पञ्चेश्वर गाउँपालिकाले महाकालीमा रहेका घाटहरुमा डुङ्गा सञ्चालनका लागि ठेक्का खोलेर सुरेन्द्रलाई अनुमति पाएको भए पनि भारतीय पक्षले अवरोध गर्दा समस्या भएको छ ।
गाउँपालिकाले ६६ हजार ठेक्कामा डुङ्गा चलाउने अनुमति दिए पनि एसएसबीले डुङ्गा चलाउन रोक लगाएको उनको भनाइ छ । ‘महाकालीमा डुङ्गा चलाएरै जीवनयापन गर्दै आएको थिए । गत वर्षदेखि एसएसबीले डुङ्गा सञ्चालन गर्न नदिँदा रोजिरोटी नै बन्द भएको छ’, उनले भने।
एसएसबीले भारतीय प्रशासनको पनि अनुमति चाहिने भन्दै सञ्चालनमा अवरोध गरेको चन्दको भनाइ छ । डुङ्गा निर्माणका लागि एक लाख बढी र अनुमतिबाट लागि ६६ हजार खर्च भएको उनले बताए। भारतीय सीमा सुरक्षा बलको अवरोधबारे गाउँपालिकालाई पटक-पटक जानकारी गरिएको भए पनि कुनै सुनुवाइ नभएको चन्दको गुनासो छ ।
‘डुङ्गा चलाउनका लागि गाउँपालिकाले अनुमति दिएकाले पटक-पटक गाउँपालिकामा धाए पनि कुनै सुनुवाइ भएको छैन । भारतीय प्रशासनको अनुमति म कहाँबाट ल्याऊँ’, उनले भने। हल्दुविनायक घाटमा एसएसबीले डुङ्गा सञ्चालनमा रोक लगाएकोबारे जिल्ला प्रशासन कार्यालयलाई खबर भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। गाउँपालिकाले ठेक्का खोलेका डिम्बर, देवताल, ढोया घाटमा सहजै डुङ्गा सञ्चालनमा छन् ।