टस हारेको नेपालको ब्याटिङमा राम्रो सुरुवात

57

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबारबाट सुरु भएको अन्तिम तथा निर्णायक शृङ्खलामा नेपालले पपुवा न्युगिनी विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरेको छ। टियू मैदान कीर्तिपुरमा जारी खेलमा पिएनजीका कप्तान असद भालाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ सुरु गरेको छ।

नेपालले १३ ओभरमा विना विकेटको क्षतिमा ७० रन पुरा गरेको छ। नेपालका लागि ओपनरद्वय आसिफ शेख ३७ तथा कुशल भुर्तेल ३६ रनमा अविजित छन्। नेपालको पिएनजीसँग बलियो इतिहास भए पनि घरेलु मैदानमा पिएनजीले खेलेका दुवै खेलमा नेपाल पराजित भएको छ।

तर विश्वकप लिग–२ मा भने नेपाल पिएनजीसँग हारेको छैन। विश्वकप लिग–२ को शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई घरेलु सिरिजका सबै चार खेलमा शतप्रतिशत जित निकाल्नु पर्ने चुनौती रहेको छ। नेपाल सात देश सम्मिलित विश्वकप लिग–२ मा ३२ खेलमा ३२ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ। पपुवा न्युगिनी ३२ खेलमा ९ अङ्क जोडेर अङ्क तालिकाको पुछारमा रहेको छ ।