चितवन । जिल्लामा ‘अफ्रिकन स्वाइन फिवर’का कारण १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा-प्रभात न्यौपानेका अनुसार भरतपुर –३ मा तीन , रत्ननगरमा चार , इच्छाकामनामा तीन र खैरहनीमा दुई फार्ममा रहेका बङ्गुरमा फिवर फैलिएपछि पूर्णरुपमा खोर खाली भएको हो । यस रोगका कारण जिल्लामा दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । ती मध्ये वयस्क एक हजार नौ सय १६ वटा र नौ सय ५७ पाठापाठी रहेको उनले जानकारी दिए ।