भक्तपुर– जबरजस्ती करणीको आशंकामा प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले फरक क्षमताकी महिलामाथि जबरजस्ती करणीको आशंकामा चाँगुनारायण नगरपालिका-७ का वर्ष २४ का राज लामिछानेलाई पक्राउ गरेको छ ।
चागुनारायण-५ छालिङमा बस्ने राजकुमार गिरीले सञ्चालन गरेको सुनसान गेष्ट हाउसको कोठामा रहेको बाथरुममा करिब २२ वर्षकी महिला ढलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।
बाथरुममा अचेत अवस्थामा फेला परेकी ती युवती बोल्न नसक्ने फरक क्षमताकी छन् । नामथर खुल्न नसकेकी उनको उद्धार गरी भक्तपुर अस्पतालमा उपचारको लागी पठाइएको जनाएको छ ।
ती युवतीमाथि जबरजस्ती करणी भएको हुन सक्ने आशंकमा यौनजन्य स्वास्थ्य परीक्षण लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । गेष्ट हाउस सञ्चालक भक्तपुर चागुनारायण-५ बस्ने वर्ष ४१ को राजकुमार गिरीलाई पनि पक्राउ गरेको प्रहरी परिसरले जनाएको छ ।