लुम्बिनीको मुख्यमन्त्रीमा एमाले र माओवादीको दाबी

81

बुटवल । केन्द्रको सत्ता समीकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकारको मुख्यमन्त्रीमा पहिलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले दाबी गर्दै आन्तरिक तयारी थालेका छन् ।

दुवै दलले दाबी गरे पनि सत्ता गठबन्धनका दलहरुबीच हुने भागबन्डाले मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले पाउने भन्ने टुंगो लाग्ने छ ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले मुख्यमन्त्रीमा माओवादीको पनि दाबी रहेको बताए । ‘मुख्यमन्त्रीमा हाम्रो पनि दाबी छ, केन्द्रका शीर्ष नेताहरुसँग छलफल भइरहेको छ,’ बरालले भने ।

८७ जना प्रदेश सभा सदस्य रहेको यो प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

नयाँ बनेको केन्द्रको गठबन्धनअनुसार गठबन्धन दलका सांसदहरूको संख्या ५२ छ । गठबन्धनका दलहरु राप्रपाको ४, नागरिक उन्मुक्तिको ४, जनमतको ३ र जसपाको ३ सिट रहेको छ ।

यस्तै माओवादीबाटै विद्रोह गरेर जितेका तीन जना (रुकुम पूर्व-१ का सुरुल पुन, रोल्पा-२ का दीपेन्द्रकुमार पुन र नवलपरासी-२(२) का खड्क बस्नेत) ले पनि गठबन्धनलाई समर्थन गर्दा ५५ जना सांसद पुग्नेछन् ।

नेपाली कांग्रेसका २७, लोसपाका तीन, नेकपा एसका एक र जनमोर्चाका एक गरी ३२ सांसद मात्ररहेकाले स्वतन्त्र सांसदले सममर्थन नगरे पनि यहा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छैन ।