प्लाइउड भारत निकासी

35

नेपालगञ्ज । बाँकेबाट प्लाइउड भारत निकासी भएको छ। शिखर प्लाइउडले सोमबार २८ टन प्लाइउड भारत पठाएको हो।

शिखर प्लाइउडका प्रबन्ध निर्देशक चम्पालाल बोथराले सधैं भारतबाट प्लाइउडका तयारी र कच्चा पदार्थ आइरहेकोमा अब यस क्षेत्रबाट भारत निकासी थालिएको बताए।

बोथरा आफैले इकुलिप्टिस र पोपुलर (लहरे पिपल) का तीन लाख बिरुवा लगाएका छन्। यहाँका अन्य किसानले दुई करोड बिरुवा लगाएका छन्। कच्चा पदार्थमा आत्मनिर्भर हुँदै गएपछि बाँकेबाट तयारी प्लाइ भारत पठाइएको बोथराले जानकारी दिए।

भारतमा प्लाइउड पठाउन थालेपछि किसान थप उत्साहित भएका छन्। इकुलिप्टिस र पोपुलर लगाउने किसान बढ्दै गएका छन्। यहीँ उत्पादन हुन थालेपछि भारतबाट आउने करोडौँको कच्चा पदार्थ र तयारी सामान रोकिने विश्वास गरिएको छ।