Tuesday, September 29, 2026
Home समाचार गर्भवतीको घरमा नीलो झन्डा

गर्भवतीको घरमा नीलो झन्डा

47

चौतारा : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर नीलो झन्डा राखेको छ। पोषण तथा खाद्य सुरक्षा नेपाल र बलेफी गाउँपालिकाको सहकार्यमा वडा नं २ भित्रका गर्भवती र दुई वर्षसम्मका सुत्केरीका ४५ घरधुरीमा नीलो झन्डा राखेर कार्यक्रम सुरुवात गरिएको हो। उक्त झण्डामा गर्भवती आमा, ६ महिनासम्मका स्तनपान गर्ने बच्चा, ६ महिनादेखि दुई वर्षसम्मका बालबालिका देखिने लोगो राखिएको छ। गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख चेतन घिमिरेका अनुसार पोषणमैत्री स्थानीय शासन प्रवर्धनका लागि सुनौला हजार दिनका आमाका घरपहिचान तथा सचेतना कार्यक्रमअन्तर्गत झन्डा राख्ने काम गरिएको हो। गर्भवती र दुई वर्षसम्मका सुत्केरी सुनौला हजार दिनका आमा हुन्। सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झन्डा राखिएको वडा नं २ स्थित धन्सार आधारभूत स्वास्थ्यचौकीकी इन्चार्ज सुभद्रा नेपालले जानकारी दिइन्। गर्भवती महिला सुत्केरी नहुन्जेल गर्भजाँचका साथै उनीहरूलाई आवश्यक अन्य सेवा प्रवाहमा सहजता र लक्षित वर्ग पहिचानका लागि यो अभियान सञ्चालन गरिएको पोषण तथा खाद्य सुरक्षा नेपालकी सहजकर्ता सविता श्रेष्ठले बताइन्।