नवौँ राष्ट्रिय खेलकुद: भलिबल खेलमा खराब म्याट, खेलाडी लगातार घाइते

82

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भलिबल खेलमा खराब म्याटका कारण लगातार खेलाडी घाइते भएपछि अहिले धुलाम्मे कोर्टमै प्रतियोगिता खेलाउन थालिएको छ।

मंगलबार सशस्त्र प्रहरी क्लब र लुम्बिनी प्रदेशबीचको क्वार्टरफाइनल खेल लगातार खेलाडी घाइते भएपछि स्थगित गर्नु परेको थियो।

क्वाटरफाइनलको तेस्रो खेलमा विभागीय टिम एपीएफ र लुम्बिनीबीच खेल भइरहँदा खेलाडी घाइते हुन पुगेपछि खेल स्थगित गरेर म्याट हटाउनु परेको थियो। दोस्रो सेटमा ५–३ को अग्रता लिइरहँदा विभागीय टिमका खेलाडी रुपिन्द्र गैरे घाइते हुन पुगे।

उनको खुट्टाको एङ्कल ट्विस्ट भएपछि उपचारको लागि अस्पताल पठाइएको छ। त्यसलगतै लुम्बिनीका विजय परियार घाइते भए। उनले पनि एङ्कलमा नै चोट बोक्न पुगेका थिए। त्यसपछि पनि खेलाडी घाइते हुने क्रम रोकिएन, एपीएफका टेकराज अवस्थी घाइते भएपछि भने रेफ्रीले खेल रोक्दै म्याट हटाउने निर्णय गरेका थिए।

लगातार खेलाडी घाइते भएपछि दर्शक र खेलाडीले विरोध गरेपछि म्याट हटाइएको थियो। पुरानो म्याट भएका कारण चिप्लिएर लगातार खेलाडी घाइते भए। यद्यपि भलिबलका लागि भनेर ल्याइएको म्याट भने सेपाकताक्रो खेलको लागि नवलपुर लगिएको छ। जसका कारण काम नलाग्ने अवस्थामा रहेको म्याट भने भलिबलका लागि बिछ्याइएको थियो।

त्यसो त भलिबलमा अगाडि तीन खेलाडी घाइते भइसकेका छन्। उद्घाटनको दिन गण्डकी र बागमतीबीचको खेलमा गण्डकीका प्रेम कुमालको खुट्टा नै भाँचिएको थियो। त्यसबाहेक लुम्बिनीकै चिरञ्जीवी खड्का र एपीएफकै हेमन्त मल्ल घाइते भएका थिए। करिब २ घन्टा अवरोध भएपछि धुलो कोर्टमै भलिबल सुरु गरिएको छ।