काठमाडौं । कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरो जादाँ हजारौं यात्रु अलपत्र परेका छन् । पहिरोको कारण कालिकोट, मुगु, हुम्ला, जुम्ला र रारा जान चाहने पर्यटकलाई समस्या परेको छ । राजमार्गको कालीकोट खण्डमा मात्रै ७३ ठाउँमा पहिरो गएकाले सवारीसाधन बीच बाटोमै अलपत्र छन् । कतिपय यात्रु लामो दूरीमा पैदलयात्रा गर्न बाध्य छन् ।
कर्णाली राजमार्गको जुम्ला खण्डमा मात्रै १३ वटा सवारीसाधन बीचैमा अलपत्र परेका छन् । कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट सडकखण्डको पहिरो हटाउने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । जुम्ला- कालिकोट खण्ड छिटो खुलाउन सम्बन्धित पालिका र सुरक्षा निकाय जुटेका जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी बताएका छन् । धेरै ठाउँमा एक्साभेटर प्रयोग गरिएको छ । केही ठाउँमा ढुङ्गा फुटाउन ’ब्लास्टिङ’ गर्नुपर्ने भएकाले नेपाली सेनालाई खटाइएको छ । स्थानीय प्रशासनका अनुसार बाटो खुलाउन अझै तीन दिनसम्म लाग्न सक्छ ।
कर्णाली राजमार्ग पहिरोले जोखिमपूर्ण भएपछि त्यहाँका नागरिक अहिले महँगो भाडा तिरेर हवाई मार्गमार्फत यात्रा गर्न बाध्य छन् । जहाजको यात्रा गर्न टिकट पाउन पनि मुस्किल छ । टिकटमा मनोमानी छ । जुम्लामा तारा, गोमा, सीता एयरले उडान भर्दै आएका छन् ।