जनकपुर । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्रे भएका छन्। जसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप फेरिएको छ।
मधेस प्रदेशको राजधानी घोषणा हुनुपूर्वसम्म अतिक्रमण र जीर्ण रहेका नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्रे भएपछि नगर क्षेत्रको स्वरुप फेरिएको हो। ‘केही वर्षअघिसम्म एकातिर नगर क्षेत्रका अधिकांश सडक अतिक्रमणमा परेका थिए भने अर्कातिर सडकमा ग्राभेल र खाल्डाखुल्डी भएर जीर्ण बनेको थियो’, जनकपुरधाम उपमहानगरपालिका–४ का स्थानीय किशोर झाले भने, ‘तर अस्थायी राजधानी बनेसँगै अहिले सडक फराकिलो र कालोपत्रे भएका छन्, जसका कारण बल्ल आफूहरू प्रदेश राजधानीवासी भएको आभास भइरहेको छ।’ सडक स्तरोन्नतिसँगै कालोपत्रे भएकाले आवतजावतमा सहज मात्र होइन, नगर क्षेत्रको सौन्दर्यसमेत बढको उनको भनाइ थियो।
सडक हिलाम्मे र धुलाम्मे भएका कारण ठूलो सास्ती भोगेका जनकपुरधाम उपमहानगरपालिकावासी अब भने यो समस्याबाट मुक्त हुँदै गएको स्थानीय विजय यादवले बताए। ‘वर्षा लागेपछि नगर क्षेत्रका बाटामा हिँड्न पनि समस्या हुन्थ्यो, तर अहिले सडक चिल्ला भएकाले सहजै हिँड्न सक्ने अवस्था भएको’, उनले बताए।
‘सडक साँघुरो र जीर्ण हुँदा कदम चोकबाट रमानन्द चोकसम्म एक घण्टासम्म लाग्थ्यो, तर अहिले १० मिनेट पनि लाग्दैन’, उनले भने, ‘पहिला सडकको दुरावस्थाका कारण बाहिर जिल्लाबाट आउने मानिस पुनः जनकपुर आउन चाहँदैनथे, तर अहिले सडक सफा र बजार फराकिलो भएपछि बाहिर जिल्लाबाट मानिस आउने क्रम ह्वात्तै बढेको छ।’ यसबाट जनकपुरधामको सौन्दर्यता बढ्नुका साथै पर्यटन प्रवर्द्धनमासमेत ठूलो फाइदा पुगेको उनको अनुभव छ।
केही वर्षअघिसम्म अतिक्रमणको चपेटामा पर्दै गएको जानकीचोक, रामचोक, पेठिया बजार, कदमचोक, मुरलीचोक, तिरहुतिया गाछी, निधिमार्गलगायतका स्थानमा सडक फराकिलोसँगै कालोपत्रे भएका छन्।
यसैबीच जनकपुरधाम उपमहानगरले आर्थिक वर्ष २०७८-७९ मा नगर क्षेत्रका करिब नौ किलोमिटर सडक कालोपत्रे र अढाइ किलोमिटर सडकमा माटो ग्राभेलद्वारा सडक मर्मत गरेको छ। उपमहानगर योजना शाखाका अनुसार आव २०७८-७९ मा आठ दशमलव ८१ प्रतिशत सडकमा कालोपत्रे गरिएको छ।













