चामल भनेर चिनी लोड गरेकाे ट्रक नियन्त्रणमा

47

जनकपुरधाम । सर्लाहीमा चामल भनेर चिनी लोड गर्ने दुईवटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
बिहीवार हरिवन नगरपालिका- १० नयाँरोडस्थित विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले दुईवटा ट्रक नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।
हरिवन १० स्थित नयाँरोड बरहथवा सडकखण्डमा दक्षिणबाट उतरतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ६५८५ नम्बरको ट्रक र ना ७ ख ६१४५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा प्रदेश २-०३-००१ ख ६५८५ नम्बरको ट्रकमा ५० किलो दरको ५०० बोरा चिनी र ना ७ ख ६१४५ नम्बरको ट्रकमा ४८० बोरा चिनी फेला परेको हो।
प्रहरीले चिनीको बिल कागजातहरू माग गर्दा प्रिया ट्रेडिंग जेनेरल अर्डर सप्लायर्स सर्लाही मलंगवाको इनभ्वाइस नम्बर १९४ र १९५ उल्लेख भएको बिल कागजातमा सोना मन्सुली चामल लेखिएको जनाएकाे छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिएको दुईवटा ट्रक र चिनीको मूल्य १ करोड ९४ लाख बराबरको रहेको र आवश्यक कारवाहीका लागि भन्सार कार्यालय मलंगवामा पठाइएकाे छ।