Friday, September 25, 2026
Home खेलकुद सन्दीपमाथि सूक्ष्म अनुसन्धान, प्रहरीलाई आवश्यक सहयोग गर्छौँ :क्यान

सन्दीपमाथि सूक्ष्म अनुसन्धान, प्रहरीलाई आवश्यक सहयोग गर्छौँ :क्यान

84

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्‍तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणी कसूरमा अनुसन्धान भइरहेकाे प्रहरी वृत्त गौशालाले बताएकाे छ। प्रहरीले विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी परिसर, काठमाडाैँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीद्वारा कप्तान लामिछानेमाथि सुक्ष्म अनुसन्धान भइरहेकाे जनाएकाे हाे।

प्रहरीका अनुसार ती किशाेरीले सन्दीपले भदाै ५ गते दिनभर काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौँ ल्याई सिनामंगलको एक होटलको कोठा नम्बर ३०५ मा भदौ ६ गते बिहान साढे १२ बजे बलात्कार गरेका जाहेरी दिएकी थिइन्।

प्रहरीले आवश्यक परेमा इन्टरपोलमार्फत् उनलाई नेपाल झिकाउने पनि बताएको छ। यस्तोमा क्यानका कार्यवाहक महासचिव प्रशान्त मल्लले सन्दीपविरुद्ध परेको उजुरी अनपेक्षित र अप्रत्यासित रहेको भन्दै आफूहरू पुलिसलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए। मल्लले भने ‘सन्दीप लामिछानेविरुद्ध परेको उजुरीका लागि क्यानले प्रहरीलाई आवश्यक सहयोग गर्छ। यदि क्लोज क्याम्पको समयमा होटल छोडेको हो भने क्यानले आवश्यक अनुसन्धान पछि के गर्ने निर्णय लिन्छ।’ उनले अत्यावश्यक कामबाहेक क्लोज क्याम्पको समयमा होटलबाट बाहिर जान नमिल्ने बताए। ‘क्लोज क्याम्पको समयमा होटल बाहिर जान मिल्दैन। आफ्नो अत्यावश्यक व्यक्तिगत काम छ भने त जान दिने गरेको छ। यदि सन्दीपको हकमा आएको कुरामा भने मिल्दैन’‍, उनले भने।

उनले भने, ‘कप्तानको जिम्मेवारीमा रहेका खेलाडीलाई २४ घन्टा निगरानी गर्ने कुरा त हुँदैन। कप्तानजत्तिको जिम्मेवार व्यक्ति भएपछि हामीले उसलाई शंका गर्ने कुरा पनि हुँदैन। उनी आफैँ ठूलो जिम्मेवारीमा भएकाले उनीविरुद्ध परेको उजुरी र समाचारले दुखी भएका छौँ। साथै आश्चर्यमा पनि परेका छौँ।’ ‘हामी सन्दीप मात्र होइन, खेलाडीलाई क्लोज क्याम्पमा राखेपछि उनीहरू आफू बढी जिम्मेवार हुन् भन्ने चाहन्छौँ। २४ घण्टा नै कुनै एक खेलाडीको निगरानी गर्ने र पछि लाग्ने कुरा त सम्भव हुन्। यद्यपि सन्दीपमाथि क्यानले पनि अनुसन्धान गर्ने र दोषी देखिए आवश्यक कारबाही गर्नेछौँ’, उनले थपे। मल्लले अहिलेसम्म प्रहरीले आधिकारीक रूपमा क्यानसँग सन्दीपको बारेमा केही जानकारी नमागेको बताए।