Tuesday, September 22, 2026
Home समाचार रेडक्रसमा गरेको तोडफोडको भर्त्सना

रेडक्रसमा गरेको तोडफोडको भर्त्सना

171

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले कार्यालयमा गरिएको तोडफोडको भर्त्सना गरेको छ ।
सोसाइटीले आज पत्रकार सम्मेलन गरेर सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले सोसाइटीका निवर्तमान अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाको समूहले तोडफोड गरेको आरोप लगाएका छन्।

उनले मङ्गलबार निवर्तमान अध्यक्ष तिम्सिनाको समूहले केन्द्रीय कार्यालयमा आई तोडफोड गरेको आरोप लगाए । ‘निवर्तमान अध्यक्ष जस्तो मानिसले रेडक्रसमा आई तोडफोड गर्नु उचित होइन’, उनले भने, ‘हामी रेडक्रसको साखलाई उच्च राख्न चाहन्छौँ ।’

सरकारले डा तिम्सिनाको कार्यकाल सकिएपछि गत जेठ ३१ गते नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । उक्त समितिलाई तीन महिनाभित्र निर्वाचन गराउन सरकारले निर्देशन दिएको छ ।

रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले वार्ता र संवादमार्फत समस्या खोज्नुको सट्टा तोडफोड गरिएको बताए । उनका अनुसार मंगलबार दिउँसो १ः३० बजे निवर्तमान अध्यक्ष डा. तिम्सिनाको नेतृत्वमा आएको समूहले महामन्त्री, उपमहामन्त्री लगायतको कार्यकक्ष तोडफोड गरेका छन् ।