कम विद्युत प्रयोग गर्न सरकारको आग्रह

66

जापान । टोकियो र टोकियो आसपासका क्षेत्रका नागरिकहरुलाई कम विद्युत प्रयोग गर्न सरकारले आग्रह गरेको छ। जापान सरकारले ३ करोड ७० लाख मानिसहरूलाई तापमानसँगै आपूर्तिमा असर पर्ने चेतावनी सहित बिद्युत कम प्रयोग गर्न आग्रह गरेको हो। अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले स्थानीय समयअनुसार सोमबार अपराह्न विद्युत्को माग ‘गम्भीर’ हुने जनाएको छ । मानिसहरूले अनावश्यक बत्तीहरू बन्द गर्नुपर्ने र गर्मीबाट बच्न वातानुकूलित प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

तापमान बढेसँगै उर्जा संकट हुने अधिकारीहरूले चेतावनी दिएका छन् । टोकियो र वरपरका आठ प्रिफेक्चरहरूमा सोमबार दिउँसो बिजुलीको लागि अतिरिक्त उत्पादन क्षमता ३ दशमल ७ प्रतिशतले अपेक्षा गरिएको मन्त्रालयले आईतबार एक विज्ञप्तिमा जनाएको थियो । विद्युत प्रदायकहरूले आपूर्ति बढाउन काम गरिरहेका र तापमान बढ्दै जाँदा स्थिति ‘अनपेक्षित’ भएको मन्त्रालयले जनाएको छ । जापानको उत्तरपूर्वी क्षेत्रमा गएको मार्च महिनामा गएको भूकम्पका कारण केही आणविक उर्जा केन्द्रहरु प्रभावित हुँदा विद्युत आपूर्तिमा कडाइ गरिएको छ ।