‘मेरो छोराले बलात्कार गरेको भए उसलाई फाँसी होस् ‘

161

मंसिर १८,
एजेन्सी । भारतको हैदराबादकी एक महिला डाक्टरको हत्याका चार अभियुक्तमध्ये तीनजना एकै गाउँका हुन् । यो गाउँ राजधानी हैदराबादबाट करिब १६० किलोमिटर टाढा छ । चौथो अभियुक्त पनि उनीहरुको बस्तीभन्दा केही किलोमिटर परको गाउँमा बस्छन् । यद्यपि, यी परिवारको पहिचान हामी सार्वजनिक गर्न सक्दैनौं किनभने अभियुक्तको मामला अदालतमै छ र उनीहरुलाई दोषी ठहर गरिएको छैन ।
पछिल्ला केही दिनमा यो घटना चर्चामा आएपछि र अभियुक्तलाई उनकै गाउँबाट पुलिसले हिरासतमा लिएपछि मिडियासँग सम्बन्धित मानिसहरु यहाँ ओहोरदोहोर गरिरहेका छन् ।

जब म ती अभियुक्तलाई हिरासतमा लिइएको गाउँमा पुगेँ तब गाउँका मानिसहरुले नै मलाई तीनजनामध्ये एकको घरको बाटो देखाइदिए । तर स्थानीयले आफ्नै गाउँका कोही व्यक्तिले यस्तो जघन्य अपराध गरेकोमा आफूहरुलाई अहिलेसम्म पनि विश्वास नलागेको बताए । गाउँकै एक व्यक्तिले भने, ‘हामी एक मजदुर हौं । जीविकोपार्जनका लागि हामीले दैनिक विभिन्न प्रकारको मजदुरी गर्नुपर्छ ।’ हामी एक अभियुक्तको घर पुग्यौं । परालको छानो भएको दुई कोठे यो झुपडीको एउटा कोठामा अभियुक्तकी आमा आराम गरिरहेकी छिन् । आफैं उठ्न नसक्ने बतउँदै उनले आफ्ना श्रीमानलाई इशारा गर्छिन् । अभियुक्तका पिता पनि मजदुर हुन् । के भएको थियो भनेर आफूलाई थाहा नभएको उनी बताउँछन् ।

उनले हात जोड्दै भने, ‘मेरा दुई छोरा र एक छोरी छन् । भोलि यदि मेरी छोरीमाथि पनि यस्तो भयो भने म चुपचाप बस्ने छैन । त्यसकारण म चाहन्छु कि यदि मेरो छोराले साँच्चै नै मानिसहरुले भनेजस्तै गरेको हो भने उसलाई फाँसीको सजाय होस् ।’ उनले अन्तिम पटक छोरासँग २८ नोभेम्बर राती कामबाट घर फर्किएपछि कुराकानी गरेको बताए ।

उनले भने, ‘मेरो छोराले मलाई सबै कुरा भनेन । ऊ सुतिरहेको थियो, पुलिसले आधा रातमा आएर छोरालाई लिएर गए । त्यतिबेला पनि मलाई के भएको थियो थाहा थिएन । जब पुलिसले मलाई पुलिस स्टेशन बोलाए तब मात्रै जानकारी दिइयो । छोराका लागि वकिल राख्ने मेरो हैसियत पनि छैन । म यस्तो गर्न पनि चाहन्नँ । यदि मेरो छोराले यस्तो गरेको हो भने उसलाई बचाउनका लागि आफ्नो पैसा र ऊर्जा खर्च गर्न चाहन्नँ ।’