Thursday, October 22, 2026
Home शिक्षा स्वास्थ्य र शिक्षा विकासमा धन–योग फाउन्डेसनको थालनी

स्वास्थ्य र शिक्षा विकासमा धन–योग फाउन्डेसनको थालनी

167

काठमाडौं । धन–योग फाउन्डेसन, युएसले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासका लागि औपचारिक पहल अघि बढाएको छ । उसले धन–योग फाउन्डेसन, नेपालसँगको सहकार्यमा नेपालका दुर्गम, विपन्न र सीमान्तकृत क्षेत्र तथा समुदायका लागि स्वास्थ्योपचार र शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न लागेको हो । दुबै संस्थाका पदाधिकारीहरूबीच शनिबार काठमाडौंमा आयोजित ‘मिट एन्ड ग्रिट–२०२२’ समारोहमा फाउन्डेसन, युएसका अध्यक्ष डा. सचिन मास्केले संस्थाको तत्कालीन र दीर्घकालीन रणनीतिहरू सार्वजनिक गर्नुभयो । संस्थाले नेपालमा मधुमेहका बिरामीहरूको उपचारमा केन्द्रित अस्पताल स्थापनाका लागि आफूले पहल गर्ने उनले घोषणा गरेका छन् । फाउन्डेसन, युएसकी उपाध्यक्ष डा. सबिना मास्केले आफ्नो मुुलुक र समाजप्रतिको दायित्व संझेर फाउन्डेसन क्रियाशील भएको बताएका छन्।

फाउन्डेसन, नेपालकी अध्यक्ष स्मृति शर्मा तिवारीले संस्थाले यसैबर्षदेखि हरेक साल मधुमेह र आँखासम्बन्धी स्वास्थ शिविर, निशुल्क उपाचार तथा जनचेतना कार्यक्रम गर्ने जानकारी गराएका छन्। दृष्टिविहीन तथा अभिभावकविहीन बालबालिकालाई छात्रबृत्रि प्रदान गर्ने पनि उनले बताएका छन्।

फाउन्डेसनकी परियोजना प्रमुख सरला श्रेष्ठले नेपालमा सामजिक कार्यहरू गर्दा आइपर्ने चुनौतिबारे जानकारी दिएका छन् भने सचिव नुज्जु अवालेले फाउन्डेसनका लक्ष्य र उद्देश्य अवगत गराएका थिए । कार्यक्रममा संस्थाका पदाधिकारीहरू डा. महेश कुमार गौतम, रोशना देवकोटा तथा सदस्यहरू जस्मीन गरुङ, बसन्त बिक्रम बोगटीलगायतको उपस्थिति थियो ।