सेयर बजार साताको ६ दिन खुल्ने

70

काठमाडौं । आगामी असार १ गतेदेखि लागु हुने गरी सेयर बजार साताको ६ दिन खुल्ने भएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार असार १ गतेदेखि बजार शनिबार बाहेक साताको ६ दिन खुल्ने भएको हो। उनका अनुसार आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार खुला रहनेछ भने शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बजार खुला हुने भएको हो।

सरकारले आइतबार समेत दिँदै आएको सार्वजनिक बिदा खारेजको घोषणा गरेसँगै नयाँ निर्णय भएको हो। यस अघि पुरानै व्यवस्था अनुसार आइतबार बजार खुल्ने र शुक्रबार बन्द हुन सक्ने बताइएको भएपनि नयाँ निर्णय अनुसार शुक्रबार दुई घण्टालाई भएपनि बजार खुल्ने भएको हो। लगानीकर्ताहरू शुक्रबारको कारोबारमा समेत अभ्यस्त भइसकेको र पछिल्लो समय सेयर कारोबारको राफसाफ लगायतका कामहरू प्रविधिको प्रयोगले हुन थालेसँगै यस्तो निर्णय गरिएको बुझिएको छ।
गत जेठ १ गतेदेखि सरकारले परीक्षणको लागि भन्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। नेप्सेले पनि सरकारको निर्णयसँगै आइतबार बिदा दिएर शुक्रबार नियमित कारोबार गरिरहेको थियो।