बलात्कारपछि जबरजस्ती गर्भपतन

68

बारा । बारामा एक किशोरीलाई सामूहिक बलात्कार गरेर जबरजस्ती गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका– ५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डाक्टर ओमप्रकाश महतोकोमा लगेर गर्भपतन पनि गराएका छन् । राति अचेत बनाएर गर्भपतन गराएपछि होसमा आएर घर फर्किएकी ती किशोरीले आफुसँग भएको ज्यादतीबारे अभिभावकलाई जानकारी गराएपछि घटना बाहिर आएको हो ।

आइतबार पीडित किशोरीका अभिभावकले आरोपित दुवै युवक र गर्भपतन गराउने डाक्टर महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी परेका आरोपित दुवै युवक र डाक्टर महतो फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । पीडित किशोरीको आइतबार दिउँसो प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर प्रहरीकै संरक्षणमा राखिएको थापाले बताए ।