हेटौंडा : बागमती प्रदेशले सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउदैछ। जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो। चालू आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार बढाएर ६५ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ। बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षमा प्रदेश सरकारको बजेट चालू आवको तुलनामा १० अर्बसम्म बढेर आउनसक्ने बताएका छन्। केहिदिन अघि हेटौंडामा आयोजित उद्योग वाणिज्य संघ बागमती प्रदेशको पाचौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदश सरकारको बजेट १० अर्बसम्म बढ्न सक्ने बताएका हुन्।
मुख्यमन्त्री पाण्डेले भने अनुसार १० अर्ब रुपैयाँ वृद्वि भए आगामी आर्थिक वर्षमा प्रदेश सरकारको बजेट ६७ अर्बको हाराहारीमा हुनेछ। प्रदेश सरकारका एक मन्त्रिले भने आगामी आर्थिक वर्षमा सरकारको बजेट ६५ अर्बको हाराहारीमा आउने बताए। ‘यति नै भनेर अहिले नै भनिनहालौ। ६५ अर्बको हाराहारीमा प्रदेश सरकारको बजेट आउँछ। यसमा अलिकति बढि वा कम हुन सक्छ’, उनले भने। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट मात्रै ११ अर्ब रुपैयाँ पाउने भएको छ। जेठ १५गते संघीय सरकारले ल्याएको बजेटमा बागमती प्रदेशलाई ११ अर्ब रुपैया विनियोजन गरिएको छ। चालू आवको तुलनामा प्रदेश सरकारले केन्द्रबाट पाउने बजेट निकै बढेकोले प्रदेश सरकारको बजेट पनि बढेर ६५ अर्बको हाराहारीमा पुग्ने आर्थिक मामिला तथा योजना मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
उनले हाल प्रदेश सरकारले ठुला मन्त्रालयहरुको बजेटको विषयमा छलफल गरिरहेको बताए। उनको अनुसार सरकारले अहिले बजेट वक्तव्य बनाउने, विनियोजन ऐन र आर्थिक ऐन बनाउने तथा आर्थिक सर्वेक्षण गर्ने लगायतको काम गरिरहेको छ।प्रदेशमा साढे ३ वर्ष एमाले नेतृत्वको सरकार बर्हिगमनसँगै हाल गठबन्धनको सरकार छ । नेकपा (एकीकृत समाजवादी) नेतृत्वमा रहेको गठबन्धन सरकारले आगामी आवका लागि ल्याउने बजेटप्रति सबैको चासो छ। तत्कालीन एमाले सरकारले ल्याएको बजेट खर्च निराशा जनक छ। चालू आवको १० महिनामा बागमती सरकारले ३५ प्रतिशत मात्रै खर्च गर्न सकेको छ।














