काठमाडौंमा उम्मेदवार छान्‍न नजान्दा टाउकोमा लौरो बजारियो : रामचन्द्र पौडेल

100

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गरेको छन्। वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताएका हुन्। शनिबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, ‘राजनीतिक दलहरुले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन। कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि। एमालेका नेताले जुन निर्णय गरे त्यो पनि जनतालाई हेपेकै निर्णय थियो। किनभने जुन उम्मेदवारलाई अघि सार्नुभयो उहाँहरु उपयुक्त थिएनन्। आउटडेटेट भइसकेका थिए। अहिले कांग्रेसले जे गरेको थियो त्यो पनि उपयुक्त थिएन। ती भन्दा उपयुक्त धेरै मान्छेहरू थिए।’उनले काठमाडौं महानगर पालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताए। प्रमुखका उम्मेदवारहरूको कार्यक्षमताको समय सकिसकेकोले जनताले राजनीतिक दलहरूले गरेको निर्णयलाई लत्याएको बताए।

आफूले कामनपा प्रमुखको उम्मेदवारका रूपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णायकले नमान्दा राजनीतिक दल हार व्यहोर्न बाध्य भएको बताए। ‘मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदैछिन्, उपमेयरमा राम्रो काम गरेकी थिइन्। पुरुष दिने हो भने तीर्थ डंगोल छँदै छन्। भनेको थिएँ। त्यस्ता राम्रा मानिसहरु थिए। उम्मेदवारी दिँदा नै वंशवादको आधारमा जो दिइयो त्यो गलत भयो’ उनले भने, ‘जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा। मैले त्यतिबेला पनि भनेको हो, मेरो केही लागेन। म निर्णायक ठाउँमा होइन। पार्टी सभापति नै निर्णायक हुन्छ।’