सोलुखुम्बु : यस वर्षको वसन्त यामको सगरमाथा आरोहण सकिएको छ। पर्यटन विभागका अनुसार आरोहण अभियान सबै हिमालमा पूरा भएको छ। सगरमाथा आधार शिविरबाहेक सबै हिमालबाट आरोही फिर्ता भइसकेको विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले जानकारी दिए।
‘सगरमाथाबाट केही आरोही र सहयोगी फर्कने क्रममा हुनुहुन्छ,’ उनले भने, ‘अरु हिमालबाट सबैजसो फर्किसक्नु भयो।’ कतिपय आरोही र उनीहरूका सहयोगी आधार शिविरबाट पदयात्रा गर्दै फर्कने क्रममा रहेको उनले बताए।कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन्। उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै वैशाख २४ गते सगरमाथा शिखरमा पुगेका थिए। उनीसहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शिखरमा पुगेको हो।सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामीरिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ। उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए।