भदौं ५,
नुवाकोट । ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजना चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग तथा नेपाल सरकार एवं नेपाल बिद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो । यो हालसम्म बनेका मध्ये नेपालकै दोस्रो ठुलो विद्युत आयोजना हो ।
रसुवा र नुवाकोट जिल्लामा निर्मित यस आयोजनाको बाँधस्थल रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ सल्लेटारमा पर्दछ भने विद्युतगृह बाँधस्थलबाट करीव ५ कि.मी. दक्षिण–पश्चिम नुवाकोट जिल्लाको किस्पाङ–५ सिम्लेमा अवस्थित छ ।
यो आयोजना ठेकेदारले कम्पनिले सन् २०१९ अगष्ट ३० निर्माण कार्य सम्पन्न गरी प्राद्यिकरणलाई हस्तान्तरण गरेको थियो । आयोजनाको कूल जलाधार क्षेत्र मध्ये करिब ७०% जलाधार क्षेत्र चीनमा पर्दछ । करिब १४४.५७ मिटर उचाइबाट ५१ घनमिटर प्रति सेकेण्डको पानी खसाली विद्युत निकालिएको यस आयोजनाबाट वर्षको ७०% समय अर्थात् करिब साढे आठ महिना पूर्णरूपमा ६० मे.वा. विद्युत उत्पादन हुने माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाका कार्यालय प्रमुख सुरेश राउतले बताए ।
बाँकी समयमा पनि न्यूनतम ४३.७५ मे.वा, क्षमतामा विद्युत उत्पादन हुने उनको भनाई छ ।
आयोजनाबाट बार्षिक कुल ४८ करोड ९७ लाख ६० युनिट विद्युत उत्पादन हुनेछ जस मध्ये ४६०.४ गीगावाट÷घण्टा विजुली प्रति वर्ष उपभोग गर्न सकिनेछ जुन हाल नेपालमा सञ्चालित जलविद्युत आयोजनाहरुबाट भएको उत्पादन मध्ये (१४४ मे.वा.को कालिगण्डकी पछि) यो दोश्रो ठूलो उत्पादन हो ।
यो आयोजनाले राष्ट्रको विद्युतीय उर्जा क्षेत्रमा करिब ८% योगदान दिदैं आएको छ ।
यस आयोजनाले कूल उत्पादनको करिब ४६% विद्युत सुख्खा याममा उत्पादन गर्नेछ जसका कारण नेपालको उर्जा व्यवस्थापनमा यो आयोजना एक कोशेढुङ्गा सावित भएको छ ।