Wednesday, October 7, 2026
Home प्रदेश सूर्यबिनायकमा नगर स्वास्थ्य केन्द्र स्थापना

सूर्यबिनायकमा नगर स्वास्थ्य केन्द्र स्थापना

157

जेठ १३,
भक्तपुर । सूर्यबिनायक नगरपालिकास्थित ३ नम्बर वडामा नगर स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।नगरपालिका र गाउँपालिकाका हरेक वडामा स्वास्थ्य संस्था हुनुपर्ने सरकारको नीति बमोजिम यस अघि ३ नम्बर वडा बालकोटमा स्वास्थ्य संस्था नभएकोले स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।केन्द्रको मंगलबार एक कार्यक्रमकाबीच नगर प्रमुख बासुदेब थापाले उद्घाटन गर्नुभयो । नगरप्रमुख थापाले हरेक स्थानीय तहमा एक अस्पताल संचालन गर्नुपर्ने सरकारको नीति अनुसार नगरपलिकाले दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई सुर्यबिनायक नगर अस्पतालको रुपमा बिकास गरिसकेको बताउँदै सरकारकै नीति बमोजिम ३ नं.वडामा स्वास्थ्य केन्द्रको सुरुवात गरिएको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका सामाजिक बिकास समितिका प्रमुख तथा वडाध्यक्ष किरण थापाले अब नगरपालिकाको ६ नम्बर वडामा मात्र स्वास्थ्य केन्द्र स्थापना गर्न बाँकी रहेको भए पनि सो वडामा पनि केन्द्र स्थापना गर्ने तैयारी भैरहेको बताउनुभयो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त प्रसाद चापागाईंले देबडोल क्लबको सामुदायिक भवनमा केन्द्रको सुरुवात गरिएको जानकारी दिंदै तत्कालका लागि नगरपालिका भित्रै रहेको जनशक्ति मध्य एक सीनियर अहेब शुशिल घिमिरे र एक अनमी पुष्पा जिरेलको ब्यबस्था गरिएको बताउनुभयो ।केन्द्रबाट ओपीडी सेवा,,गर्भवती सेवा,परिवार नियोजन सेवा,डे«सिङ्ग लगायत सेवा र ४० प्रकारका औषधी निशुल्क प्रदान हुने स्वास्थ्य शाखा प्रमुख चापागाईंले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले नगरपालिकाले नागरिकको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने सोच अनुसार नगरका ९ वटा वडामा मात्र नभई सेवाको पहुँच नपुगेको महसुुस गरी तर्खगाल,घ्याम्पेडाँडा र काँक्राबारीमा समेत स्वास्थ्य केन्द्र संचालन गरिसकेको बताउनुभयो ।उहाँले नगर अस्पताल,गुण्डु स्वास्थ्य चौकी,कटुञ्जे र नङ्खेल स्वास्थ्य चौकीबाट हाल आरडीटी मार्फत कोरोना संक्रमणको परिक्षण भैरहेको बताउँदै यी संस्थाका अतिरीक्त चित्तपोल र सिपाडोल स्वास्थ्य चौकीबाट रगत र पिसाबको समेत ल्याब मार्फत परिक्षण भैरहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले सुर्यबिनायक भित्रका हरेक स्वास्थ्य संस्था कोरोना संक्रमण र लकडाउनकाबीच शनिबार र अन्य सार्वजनिक बिदामा समेत निरन्तर संचालनमा रहेको बताउनुभयो ।उहाँले स्वास्थ्यकर्मीको सुरक्षाका लागि हरेक स्वास्थ्यकर्मीलाई दुई थान पीपीई सहित आवाश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको बताउनुभयो ।

लकडाउनकाबीच संक्षिप्त रुपमा संचालित उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट सुर्यबिनायक नगरपालिकाका प्रमुखका प्रत्यासी बिष्णुराज कार्की ,३ नम्बर वडाध्यक्ष शिबशरण खत्री,वडा सदस्य घनश्याम भट्टराई,प्रभुभक्त माडी श्रेष्ठ,बालकोट स्वास्थ्य चौकीका प्रमुख पुण्यप्रसाद काफ्ले लगायतको सहभागिता रहेको थियो ।