कोरोना बिरामीलाई झ्यालबाट हेरेर फर्किन्छन् आफन्त

90

बैशाख २०,
स्टाफ नर्स सम्झना थापा
ओस्लो । मेरो नाम सम्झना थापा हो । म पेसाले स्टाफ नर्स हुँ । सन् २००४ देखि नर्वेमा बस्दै आएकी छु । मेरो घर पोखरा हो । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम), पोखरा नर्सिङ क्याम्पसमा अध्ययन गरेकी हुँ । नेपालमा नर्सिङ सकेपछि दुई वर्षमात्र काम गर्ने अवसर पाएँ । छोटो समयमा मैले गण्डकी क्षेत्रीय अस्पताल र फेवा सिटी अस्पतालमा काम गरेर धेरै कुरा सिक्ने अवसर पाएँ । नर्वेमा भने नर्सको रुपमा दर्ता भएर सन् २००७ देखि काम गर्दैछु । अहिले विश्व कोरोना भाइरस (कोभिड–१९) को त्रासमा छ । कोभिड–१९ को सङ्क्रमण र त्यसबाट मानिसको जिन्दगीमा परेको असर विश्वभर नै उस्तै छ । केही महिनाअगाडि साधारण लाग्ने दिनचर्या अहिले एकदमै फरक भएको छ । त्यसको असर नर्वेमा पनि परेको छ । स्वास्थ्यको क्षेत्रमा काम गर्नेहरुको दैनिकी पहिलेकोभन्दा कठिन हुँदै गएको छ ।

राजधानी ओस्लोमा रहेको मैले काम गर्ने नर्सिङ होम कोरोना उपचार केन्द्र बनेपछि दैनिकी बिलकुलै फेरिएको छ । बि.स. २०७६ चैत १८ गतेदेखि निरन्तर कोभिड–१९ का सङ्क्रमितको उपचारमा छु । पहिला पुनर्स्थापना वार्डमा काम गर्दा र अहिले कोभिड–१९ ‘पोजेटिभ’ भएका बिरामीसँग काम गर्दाको अनुभव निकै फरक छ । पहिला हामी स्टाफ नर्स एउटा बिरामीको कोठामा ८ घण्टाको ड्युटी गर्दा धेरै पटक बाहिर भित्र गथ्र्यौँ । अहिले भित्र जानुभन्दा पहिला धेरै पटक सोचविचार गरेर, धेरै तयारी गरेर र चाहिने सबै सामान जुटाएर मात्र जानुपर्ने हुन्छ । आफूलाई रोग नसरोस् अनि परिवार र आफ्नो सम्पर्कमा आउने मान्छेको पनि निकै चिन्ता हुने रहेछ । त्यसैले

सङ्क्रमणबाट बच्ने सबै उपकरण लगाएर काम गर्दा निकै असजिलो महसुस हुन्छ । अनि कति पटक त बिरामीलाई हामीले भनेका कुरा सुन्न र बुझ्न असजिलो भएको देखिन्छ । अझ डिमेन्सिया (बिर्सने रोग) लागेका बिरामीलाई हामी स्टाफ नर्स किन व्यक्तिगत सुरक्षा कवच (पीपीई) लगाएर उनीहरु भएको ठाउँमा गयौँ भन्ने कुरा बुझाउन पनि गार्हो भइरहेको हुन्छ । पहिला बिरामीका आफ्ना मान्छे बेला बेलामा भेट्न आउने क्रम चलिरहन्थ्यो । अहिले उनीहरुका आफन्तलाई भेट्न आउने अनुमति छैन । त्यसैले धेरै बिरामी आफ्नो परिवारको सदस्यलाई भेट्न नपाउँदा निकै दुःखी देखिन्छन् । हामीले उनीहरुलाई ‘फेसटाइम’लगायत अरु तरिकाबाट आफ्नो परिवारसँग कुरा गराइदिने गर्छौँ । तर पनि प्रत्यक्ष रुपमा भेटेजस्तो नहुने भएकोले केही आफन्त झ्याल बाहिरबाट हात हल्लाउँदै आफ्नो मान्छेलाई हेरेर फर्कन्छन् । त्यो देख्दा निकै नरमाइलो लाग्छ । तर यदि बिरामीलाई सार्है च्याप्यो र ज्यान जाने अवस्था आयो भने आफ्नो मान्छेले भेट्न आउने व्यवस्था नर्वेमा गरिएको छ ।

यहाँ अन्य युरोपियन देशभन्दा अलि फरक छ । जुन बिरामी र उसको आफन्तको लागि राम्रो कुरा हो । यस्तो अवस्थामा एक पटकमा दुई जनाले बिरामीलाई भेट्न पाउँछन् । हामी आफैँले उनीहरुलाई पीपीई लगाउन सहयोग गरेर भित्र लैजान्छौँ । मैले काम गरिरहेको वार्डमा ३४ वर्षदेखि ९७ वर्षसम्मका बिरामी छन् । त्यसमा पनि बढी उमेरका वृद्धवृद्धा कोभिड–१९ सँगै अन्य रोगसँग पनि लडिरहेका छन् । डिमेन्सिया भएका बिरामी पनि केही मात्रामा छन् । यस्तै सानो उमेरका बिरामीहरु चाहिँ जन्मिँदादेखि नै शारीरिक अपाङगता भएका देखिन्छन् ।

मैले काम गर्ने वार्डमा कोभिड–१९का बिरामी आउने जाने क्रम चलिरहेकै छ । जसमध्ये १४ जना बिरामी सन्चो भएर घर फर्किएका छन् । तीन जना गम्भीर भएर हाम्रोबाट अर्कोमा ‘रेफर’ गरिएको छ । पाँच जनाले कोभिड–१९ कै कारण ज्यान गुमाएका छन् । ती पाँच जनामा ७८ देखि ८६ वर्ष उमेरका बिरामी थिए । त्यसमा पनि उनीहरु पहिलादेखि नै मधुमेह, उच्च रक्तचाप र पक्षघातलगायतका दीर्घ रोगी थिए । खोकी र ज्वरोका कारण उनीहरुले तरल पदार्थ पनि खान सक्दैनथे । अरु बिरामी जसको पहिलादेखि नै शारीरिक र मानसिक अवस्था राम्रो थियो उनीहरु छिटो सन्चो भएर फर्किसकेका छन् ।

बिरामी सन्चो भएर घर फर्किन लागेको बेलामा उनीहरुमा देखिएको खुसीले भने आफूले गरेको सबै दुःख बिर्साउँदो रहेछ । अहिलेसम्म हाम्रो वार्डमा काम गरेको कुनै पनि कर्मचारीलाई कोभिड–१९ सरेको छैन । त्यसको लागि हामीले आफूलाई आवश्यक पर्ने सुरक्षा मापदण्ड अपनाएका छौँ । उपचारमा संलग्न हामीलाई कोभिड–१९ को सङ्क्रमण नदेखिँदा हामी निकै खुसी छौँ । तर, काम गर्दै जाँदा रोग सर्छ कि भन्ने डर भइहाल्छ । सुरक्षा मापदण्ड अपनाएर काम गर्दा असजिलो भने भइरहेकै छ ।

अहिले नर्वेमा अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीको सङ्ख्या घट्दै गएपनि हाम्रो वार्डमा अझै २२ जना बिरामी छन् । यो सङ्ख्या बढ्छ कि घट्छ भन्ने कौतुहलता सबै कर्मचारीमा छ । बाँकी त आउने दिनले नै देखाउला ।

घरमा साना बच्चा भएकाले सुरुका दिनमा मनमा केही डर र त्रास थियो । तर अहिले बानी परिसकेको छ । यस आपत्को बेला सबैजना त्राहीत्राही भइरहेको बेला कोरोना सङ्क्रमितसँग मात्रै काम गर्दा, उनीहरुलाई सेवा दिन पाउँदा र आफू अझै स्वस्थ हुँदा आफूलाई धेरै भाग्यमानी ठान्छु ।
नर्वेजस्तो सम्पन्न देश जहाँ सबै स्वास्थ्य सेवा सबैको लागि निःशुल्क छ । स्वास्थ्यकर्मीलाई यो रोग सर्नबाट बचाउनको लागि चाहिने सबै सामान उपलब्ध हुने भएकाले होला हामीमध्ये कोही पनि यस रोगबाट पीडित भएका छैनौँ ।

हामीले समाचार हेरेर यो देशमा यति जना मर्यो, अर्को देशमा झन् धेरैको ज्यान गयो भनेर आत्तिनुभन्दा कसरी यो रोगलाई फैलनबाट रोक्न सकिन्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने देखिन्छ । अर्को महत्त्वपूर्ण कुरा भनेको यो रोग सरिहाल्यो भने कस्तो व्यक्तिलाई सबैभन्दा बढी खतरा छ भन्ने कुरा पनि मनन गरेर अगाडि बढ्नुपर्ने देखिन्छ । नेपालमा अहिलेसम्म यो रोगले ठूलो रुप लिएको छैन । तर हामी नेपाली धेरैजसो ठूलो परिवारमा सँगै बस्ने र परिवारमा उमेर बढी भएका बुवा, आमा, हजुरबुवा र हजुरआमालाई पहिलेदेखि नै अरु विभिन्न रोग छन् भने उहाँहरुलाई जोगाउने कोसिस गर्नुपर्छ ।

हामीले रोग लागिहाले पनि सन्चो हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन । स्वस्थ व्यक्तिले पनि आफ्नो ख्याल बढी नै गर्नुपर्छ । सकेसम्म व्यायाम गर्ने र शरीरलाई चाहिने जति आराम गर्नु पनि जरुरी छ । कोभिड–१९ एउटा सामान्य रोग हो । तर, छिटै सर्ने रोग भएकोले तपाईंले आफ्नो सुरक्षा गरेर मात्र हुँदैन । अरुलाई जोगाउने दायित्व पनि तपाईंसँग हुन्छ । हामी स्वास्थ्यकर्मी सबैभन्दा जोखिममा छौँ । सैनिकका लागि युद्ध मैदानजस्तै हामीलाई लड्नैपर्ने बाध्यता छ । यो रोग लागेपछि निको पार्ने औषधि बनिसकेको छैन । त्यसैले लागेपछि उपचार गर्छु भन्नुभन्दा लाग्नै नदिनु उत्तम हुन्छ । सबैले आफ्नो ठाउँबाट कोभिड–१९ नियन्त्रणको प्रयास गरौँ ।

-उज्यालोबाट साभार