सेटिङ्गमा कोइला बोकेका ट्रक भक्तपुर छिरेपछि स्थानीय त्रसित

3416

चैत २९,
भक्तपुर । ईटा भट्टामा प्रयोग हुने कोइला बोकेका एक दर्जन भन्दा धेरै ट्रक भक्तपुरका विभिन्न स्थानमा पुगेपछि स्थानीहरु त्रसित भएका छन् । महानगरिय प्रहरी परिसर भक्तपुरको अनुसार ती ट्रकहरु पर्सा जिल्लाको वीरजंगबाट हेटौडा हुदैं भक्तपुर आइपुगेका हुन् । केहीलाई प्रहरीले भक्तपुर प्रवेश गर्ने नाकामा रोकेको छ । प्रहरीको दर्जनौं सुरक्षा घेरा पार गर्दै खाद्यन्न र आल्मुनियम सल्फेट ढुवानीको पत्र टाँसेका ट्रक भक्तपुर पुग्नु रहस्यमय देखिन्छ । शनिबार बिहान चाँगुनारायण नगरपालिकाको ८ र ९ वडामा कोइला बोकेका ट्रक आएपछि स्थानीयहरुले विरोध गरेका छन् ।

स्थानीयको विरोधपछि चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र, भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक सविन श्रेष्ठ सुडाल पुगेका थिए । विश्वभर कोरोना भाईरसको जोखिम बढ्दै गएको समयमा ईटा व्यवसायीले भने खाद्यन्न र औषधीजन्य उद्योगलाई अत्यावश्यक भन्दै कोइला ल्याएका छन् ।
उनीहरुले सरकारले तोकेको न्यूनतम स्वास्थ्य मापदण्ड समेत पुरा गरेको देखिदैंन ।
यसबारेमा प्रतिक्रिया लिदाँ नगरप्रमुख मिश्रले माथिल्लो तहदेखिको सेटिङ्गमा वीरजंगबाट कोइला बोकेका ट्रक चाँगुनारायण आएका बताए । सरकारको उच्च स्तरीय समितिको निर्णयमा नै त्रुटि भएको र ईटा उद्योगलाई अत्यावश्यक भन्ने बनाइएकोमा नगर प्रमुख मिश्रले असन्तुष्टि व्यक्त गरे ।
‘मैले गृह मन्त्रालयका सचिव ज्यूसंग समेत गुनासो राखेको छु, गल्तीले उच्च स्तरीय समितिको बैठकमा ईटा उद्योग चलाउन दिने निर्णय घुसाईएको रहेछ’ नगरप्रमुख मिश्रले भने । सरकारले लकडाउन गरेको समय अत्यावश्यक वस्तुमात्र ढुवानी गर्न पाउने व्यवस्था छ । तर, सवारीको अगाडी खाद्यन्न र आल्मुनियम सल्फेट ढुवानीको पत्र टाँसेका ट्रक ईटा भट्टामा प्रयोग हुने कोइला बोकेर भक्तपुर आइपुेका हुन् ।