पुस २,
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार पुस १७ गते मतदाता नामावली प्रकाशित हुनेछ । सोही दिन मतदाता नामावली उपर दावी–विरोधको उजुरी दिने समय तोकिएको छ ।
पुस १८ गते उजुरी उपर छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने पुस २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।
सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र २२ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ ।
मनोनयन भएका उम्मेदवारको नामावली भने २३ गते बिहान १० देखि दिउँसो १ बजेसम्म प्रकाशित गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ । यस्तै, २४ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय तोकिएको छ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । माघ ९ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म मतदानको कार्यतालिका छ ।
मतदानपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ ।
संविधानको धारा ८६ को उपधारा ४ बमोजिम आगामी फागुन २० गते राष्ट्रिय सभामा एकतिहाई सदस्यको पदावधि समाप्त हुँदैछ । रिक्त हुने सिटका लागि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । -ratopati