कुकुर मारेको आरोपमा दिक्तेलका मेयरसहित तीन कर्मचारी विरूद्ध उजुरी

222

भदौ १७,
काठमाडौं । कुकुर मारेको आरोपमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालविरूद्ध उजुरी परेको छ। निर्मम तरिकाले कुकुर मारेको भन्दै मेयर रिजालसहित नगरपालिकाका तीन कर्मचारीविरूद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको हो। पशु प्राविधिक सुमन श्रेष्ठ, खोटाङस्थित जन्तेढुंगा गाउँपालिकाका बजिन्द्र विष्ट, नेपाल भेटेरेनरी एशोसिएसनका तर्फबाट पशु चिकित्सक सीताराम यादवले मेयर रिजाल र नगरपालिकाका कर्मचारीविरूद्ध उजुरी दिएका हुन्।

‘निर्मम तरिकाले कुकुरलाई मारेको भन्दै निवेदन आएको छ,’ जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोद खेरवारले भने, ‘निवेदनमाथि अनुसन्धान सुरू गरिएको छ।’ मुलुकी अपराध संहिता विपरीत मेयरकै निर्देशनमा नगरपालिकाले कुकुर मारेको भन्दै आवश्यक कारवाहीको माग गर्दै उजुरी परेको हो।