भक्तपुरको सूर्यविनायकमा सेनाकै जग्गा बिक्रि

239

-शम्भु कट्टेल ( अन्नपूर्ण पोष्ट)
असार १२, काठमाडौं । नेपाली सेनाले भोगाधिकार पाएको भक्तपुरस्थित सूर्यविनायक ब्यारेकको जग्गा व्यक्तिका नाममा किनबेच भएको छ। सेनाको सूर्यविनायक ब्यारेकभित्र रहेको ३ रोपनी १ आना २ पैसा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ। उक्त जग्गा सेनाले २०४५ सालमा अधिग्रहण गरेको थियो।
बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण सेलाउन नपाउँदै सेनाकै ब्यारेकभित्रको जग्गामाथि भूमाफियाको आँखा परेको घटना सार्वजनिक भएको हो। भक्तपुरमा मात्र होइन, बैतडी लगायत जिल्लामा समेत नेपाली सेनाको स्वामित्वमा रहेको जग्गा कब्जा भएको छ। सेनाको जग्गा व्यक्तिले किनेको विषयमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बोल्न चाहेनन्।

भक्तपुर सूर्यविनायक नगरपालिका—६ ९तत्कालीन कटुन्जे—८, ख० स्थित सूर्यविनायक ब्यारेकले भोगचलन गर्दै आएको जग्गा २०४४ साउन ७ गते तत्कालीन श्री ५ को सरकारको निर्णयबमोजिम अधिग्रहणको प्रक्रिया अघि बढाइएको थियो। नेपाली सेनाले अधिग्रहण गरेको तीन कित्ता जग्गा किनबेच भएको छ। सुरुमा आफ्नै जग्गा किनबेच भएको सेनाले पत्तोसमेत पाएन। यो घटनाले मुलुकभरको सेनाकै जग्गासमेत असुरक्षित बनेका छन्।

वडा कार्यालय र सम्बन्धित मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा मुआब्जा दिएर सेनाको स्वामित्वमा गइसकेको जग्गा किनबेच भएको पाइएको हो। सूर्यविनायक ब्यारेक परिसरको पहिलो कित्तामा ४ आना, दोस्रोमा १ रोपनी १३ आना २ पैसा र तेस्रो कित्तामा १ रोपनी ४ आना जग्गा छ। भक्तपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी थानेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा बसेको मुआब्जा समिति बैठकले जग्गाधनी खिलकुमारी शर्मालाई ६ लाख ६१ हजार ९ सय ९८ रुपयाँ ८४ पैसा दिने निर्णय गरेको थियो।

नेपाली सेनाले २०४५ असार १७ गते अधिग्रहणबारे गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो। सूचनाप्रति शर्माले कुनै उजुरी दिइनन्। सेनाले बलमिच्याइँ गरेर जग्गा अधिग्रहण गरेको भए शर्माले त्यसविरुद्ध उजुरी गर्थिन्। २०५७ सालमा शर्माको मृत्यु भयो। त्यसपछि शर्माका छोराहरूले मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा उक्त जग्गा आफ्नो नाममा ल्याए।

शर्माको मृत्यु भएको झन्डै १७ वर्षपछि २०७४ सालमा उनका छोराहरूले जग्गा आफ्नो नाममा ल्याउन र अंशबण्डा गर्न वडा कार्यालयबाट सिफारिस लिएका थिए। सूर्यविनायक नगरपालिकाका कर्मचारीले विना अध्ययन हचुवाका भरमा शर्माका छोराहरूलाई सिफारिस दियो। अहिले शर्माका छोराहरुले समेत उक्त जग्गा अर्कै व्यक्तिलाई बेचेका छन्। नेपाली सेनाको स्वामित्वमा रहेको उक्त जग्गा २०७४ सालमा अनधिकृत रुपमा नामसारी भएको पाइएको छ।

त्यसपछि शर्माका छोराबाट किनबेच हुँदै अहिले स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका—५ ९तत्कालीन चिनास गाविस—७० की सरस्वती पोख्रेल र दाङ शान्तिनगर गाउँपालिका—३ ९तत्कालीन शान्तिनगर गाविस—७० की इन्द्रा मल्लको नाममा छ। पोख्रेल र मल्लले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै आएका छन्।