२४ घण्टा नै सञ्चालनको लागि योग्य बन्दै त्रिभुवन विमानस्थल

274

जेठ ३२,
काठमाडौं । त्रिभुवन विमानस्थलको रन-वे स्तरोन्नति को काम अन्तिम चरणमा पुगेको छ । अबको दुई हप्तासम्म मुख्य रन-वे क्षेत्रको काम सक्ने गरी धामाधम रन-वेको माथिल्लो भागमा कालोपत्रे गर्ने काम भइरहेको छ । वर्षाका कारणले प्रभावित नगर जुन ३०सम्म रन-वेको स्तरोन्नतिको पूर्व कार्यतालिका बमोजिम काम सकिने नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

यही कामका लागि हाल विमानस्थल बेलुकी १० बजेदेखि विमान ८ बजेसम्म विमानस्थल बन्द गरिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक एक दशकमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर नेपालको विमानस्थल निर्माण भएयता कालोपत्रे फेरिएको छैन । विमानस्थलमा अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान-अवतरण हुन्छन् ।

हाल ३ हजार ५० मिटर लामो रन-वेको पुरै ६० मिटर चौडाभागमा थप साढे ६ सेन्टिमटरको कालोपत्रे थप्ने काम चलिरहेको श्रेष्ठले बताए । सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फरिँदैछ । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे हुनेछ । चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन-वेको स्तरोन्नति काम गर्दैछ ।

चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पूर्ण रुपमा नयाँ बनाउने योजना बनेको लामो समय भएको थियो । यसपटक निकै जोखिम मोलेर नै तल्लो सतहबाटै पिच फेरिँदैछ । यो स्तरोन्नतिको काम पछि धाँजा फाट्ने समस्यालाई हट्ने दावी प्राधिरकणको छ । हाल रन-वेलाई भित्रैबाट खोतलेर आवश्यक नयाँ निर्माण सामग्री राखेर बलियो बनाइएको छ । यो रिह्याबको काम गरे विमानस्थल २४ घण्टा नै सञ्चालनका लागि योग्य हुने दावी गरिएको छ । यो काम सुरु हुनुअघि विमानस्थल २१ घण्टासम्म सञ्चालन गरिएको थियो ।