सन्दीप क्यारेबियन लीगमा महँगो मूल्यमा, अरू नेपाली परेनन्

179

बीबीसी, जेठ ९,
काठमाडौँ । विश्वका ठूला व्यावसायिक क्रिकेट लीग खेलेर तहल्का मच्चाएका नेपाली स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका छन्। इङ्ग्ल्यान्डमा बुधवार राति भएको ड्राफ्टमा सन्दीप लामिछानेलाई बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा सकारेको जनाइएको छ। त्यो रकम झन्डै ७८ लाख रुपैयाँ बराबर हो। उनी गत वर्ष पनि क्यारेबियन लीग खेलेका थिए।
यी १९ वर्षीय खेलाडीले अहिलेसम्म उनले भारत, क्यारेबियन, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीगमा खेलेका छन्। समग्रमा लामिछानेले सबै लीगमा कुल ४२ खेल खेलेर ५३ विकेट लिएका छन्।

लामिछानेले यस्ता लीगमा पाएको यो मूल्य अहिलेसम्मकै सर्वाधिक हो। आफू नयाँ टोलीमा छानिएलगत्तै सन्दीपले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “म उत्साहित छु। एउटा नयाँ परिवारको सदस्य हुन म निकै व्यग्रताका साथ प्रतीक्षामा छु।” गत सिजनमा उनले खेलेका यस्ता फ्रेन्जाइजी लीगमध्ये लामिछानेले सबैभन्दा बढी अस्ट्रेलियाको चर्चित लीग बिग ब्याशमा ५० हजार अमेरिकी डलर पाएको बताइएको छ।

त्यसपछि क्यानडामा सम्पन्न ग्लोबल टी-२० लीग मा ४० हजार डलरमा छानिएका उनले अफगानिस्तान प्रिमियर लिगमा १५ हजार डलर तथा टी-२० लीगमा ३० हजार डलर मूल्य पाएका थिए। गत वर्षको सिजनमा उनलाई पाँच हजार डलरमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएट्सले किनेको गरेको थियो। आफ्नो टोलीका लागि उनले पाँच खेलमा सात विकेट लिएका थिए। भारतको चर्चित व्यावसायिक प्रतियोगिता आईपीएलमा गत वर्ष पहिलो नेपाली खेलाडीका रूपमा ३२ लाख रुपैयाँमा अनुबन्ध भएका लामिछानेले त्यसपछि आफ्नो व्यावसायिक जीवनमा पछाडि फर्केर हेर्नुपरेको छैन।

अरू नेपाली परेनन्
सन्दीप लामिछानेसँगै पहिलो पटक विदेशी व्यावसायिक क्रिकेट लिगको ड्राफ्टमा परेका नेपाली खेलाडीहरू सोमपाल कामी, दीपन्द्र सिंह ऐरी र रोहित पौडेललाई भने कुनै पनि क्लबले खरिद गरेनन्। यो सिजनको क्यारेबियन प्रिमियर लीग अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्ट इन्डिजमा आयोजना हुने तय भएको छ। सीपीएल टी-२० को अघिल्लो सिजनमा उनले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएट्सका लागि पाँच खेलमा कुल सात विकेट लिएका थिए। सीपीएल टी-२० मा कुल छ टोली रहेका छन् । तिनमा बार्बाडोससँगै गुयना एमजन वारियर्स, जमैका तल्लावाज, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएट्स, सेन्ट लुसिया स्टार्स र ट्रिन्बागो नाइट राइडर्स रहेका छन्।