वीरेन्द्र ओली (नयाँ पत्रिका दैनिक)
बैशाख १७, काठमाडौं । नेकपाले जिल्ला तहको एकता सके पनि भ्रातृ संगठन एकीकरण अल्झेको छ । अहिलेसम्म २१ वटा जनवर्गीय संगठनमध्ये पाँचवटामा मात्रै भागबन्डा मिलिसकेको छ । नेताहरूले १६ वटा बाँकी संगठनमा पनि छिट्टै सहमति हुने दाबी गरेका छन् । जिल्ला नेतृत्व टुंग्याएकै शैलीमा जनवर्गीय र पेसागत संगठनको भागबन्डा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नै गर्ने एक केन्द्रीय नेताले बताए । दुई नेताबीच सहमति भएपछि सबै जनवर्गीय संगठनको नेतृत्व र नाम सचिवालयले नै घोषणा गर्ने भएको हो । वरिष्ठ नेता माधव नेपाललाई पनि सहमतिमा ल्याउन दुई नेताले गृहकार्य गर्दै गरेको नेकपा स्रोतले बतायो । वरिष्ठ नेता नेपाल भने चीन भ्रमणबाट आइतबार फर्केर सोमबार फेरि अमेरिका प्रस्थान गरेका छन् ।