चैत ७, बीबीसी,
काठमाडौँ -नासाका अनुसार पृथ्वीको वायुमण्डलमा गत डिसेम्बरमा एउटा ठूलो उल्का विस्फोट भएको थियो। उक्त विस्फोट ३० वर्षयता त्यस्तो प्रकारको दोस्रो ठूलो प्रकृतिको हो र ६ वर्षअघि रुसको चेल्याविंस्कमाथिको आकाशमा भए यताको सबैभन्दा ठूलो। तर रुसको कामचात्का प्रायद्वीपको तट पारी बेरिङ सागरमाथि विस्फोट भएको हुनाले त्यसप्रति अहिलेभन्दा अघि धेरैको ध्यान गएको थिएन। उक्त अन्तरिक्ष चट्टान विस्फोट हुँदा त्यसबाट निस्केको उर्जा हिरोसिमा परमाणु बमबाट निस्केको भन्दा १० गुणा बढी थियो। नासाका ग्रह प्रतिरक्षा अधिकारी लिन्डले जनसनले बीबीसी न्यूजलाई भनेका छन्, यति ठूलो आकारको उल्का विस्फोट प्रत्येक १ सय वर्षमा दुई वा तीनपटक मात्र हुने अनुमान गरिन्छ।
१८ डिसेम्बरको स्थानीय समय अनुसार मध्यान्हको समयमा, एउटा क्षुद्रग्रह ३२ किलोमिटर प्रति सेकेण्डको वेगमा सात डीग्रीको कोणबाट वायुमण्डलमा प्रवेश गरेको थियो। केही मिटरको आकार भएको उक्त उल्का पृथ्वीको सतहभन्दा २५ दशमलव ६ किलोमिटरमाथि विस्फोट हुन पुगेको थियो र त्यसबाट निस्केको उर्जा १ सय ७३ किलोटन थियो। “त्यो चेल्याविंस्क घटनामा उत्सर्जन भएको उर्जाको ४० प्रतिशत मात्र हो, तर त्यो बेरिङ सागरमाथि भएकोले त्यसबेलाको जस्तै प्रभाव त्यसले पार्न सकेन र समाचारहरूमा त्यसको चर्चा भएन,” नासाको पृथ्वी नजिकका बस्तुहरू निरीक्षण कार्यक्रमकी केली फास्टले बताइन्।